माप्य दुधकोशी र खुम्बु पासाङल्हामु जाने सडक स्तरोन्नती

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको सदरमुकाम सल्लेरीदेखि माप्य दुधकोशी हुँदै सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकको स्तरोन्नतीको कार्य सुरु भएको छ ।

झन्डै १० दिनदेखि आरकेजेबी कन्स्ट्रन्क्शनले स्तरोन्नतीको कार्य सुरु गरेको हो । गत असारमै निर्माण कम्पनिसँग सम्झौता भएको भए पनि कोभिड–१९ र मौसमका कारण काम सुरु हुन सकेको थिएन । करिब एक दशकअघि ट्र्याक ओपन भएको सडक स्तरोन्नती नहुँदा वर्षायाममा सडक ठप्प हुँदै आएको थियो । हिउँदमा समेत तुषारो र हिउँका कारण हिलाम्य भई सडक संचालनमा कठिनाई आइपर्ने गर्दथ्यो ।

हिउँद र वर्षा दुवै समयमा सडक संचालनका लागि स्तरोन्नतीको कार्य सुरु भएको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी गराएका छन् । अध्यक्ष राईका अनुसार अब हिउँद–वर्षा नै यो सडक संचालन हुनेछ । ‘यो सडक स्तरोन्नतीका लागि संघीय माननीय हेमकुमार राई (सुरवीर) र प्रदेशसभा ‘ख’का माननीय बुद्धिकुमार राजभण्डारीज्यूले विशेष पहल गर्नुभएको छ । उहाँहरुलाई विशेष धन्यवाद दिन चाहन्छु’, राईले भने ।

फिल्ड कार्यालय, सोलुखुम्बुका सब–इन्जिनियर भरुमान राईले निर्माण व्यवसायीलाई काम चाँडै सम्पन्न गर्न लगाउने बताए । ‘बेस कन्ट्रीमा रहेर काम गर्नुपर्ने छ । स्टमेटको आधारमा ग्याबीन वाल, ब्रेस वाल, रिटर्निङ वाल, ड्रेन, गे्रडिङ तथा सोलीङलगायतको काम हुनेछन्’, इन्जिनियर राईले भने– ‘प्रतिकुल भूगोलमा बाहेक ८ मिटर लेनको सडक बन्ने छ ।’

वर्षायाममा सल्लेरीदेखि सिलगुडी डाँडासम्मको सडकखण्ड सिंचाईको कुलो झैं देखिने गर्दथ्यो । तर स्तरोन्नतीको कार्यसँगै अब हिउँद र वर्षा दुवै समयमा निर्वाध रुपले यातायात संचालन हुनेमा कन्स्ट्रक्शनका बुद्धि बहादुर मगरले विश्वास दिलाए । ‘हिउँद–वर्षा नै चल्नेगरी स्तरोन्नती गर्छौं’, मगरले भने– ‘हामीलाई डाउड चाहिँ केमा छ भने सम्झौताअनुसारको बजेट यही वर्ष आइदिए काम असार मसान्तसम्ममा सम्पन्न हुन्छ । तर यो बहुवर्षीय योजना भएको हुनाले सरकारबाट बजेट प्राप्त नभएको खण्डमा काम थोरै ढिला सम्पन्न हुन सक्छ ।’

करिब ७ किलोमिटर दुरीको यस सडक खण्ड स्तरोन्नतीको लागत स्टमेट ४ करोड ८२ लाख ८१ हजारको रहेको थियो । उक्त लागत स्टमेटमा करिब ३५ प्रतिशत कममा आरके जेबी कन्सट्रक्शनले ठेक्का हात पारेको हो । सम्झौतअनुसार उक्त कार्य ३ करोड ११ लाख ५३ हजारमा सम्पन्न हुनेछ । सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका नागरिक यस सडकबाट विशेषगरी लाभान्वित हुनेछन् ।

खुम्बुको प्रवेशद्वार बन्न थालेको दुधकोशी नदीको ओर्लाङ घाटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद हेमकुमार राईको कोष) तथा प्रदेश र स्थानीय सरकारको सहकार्यमा मोटरेवल पुल निर्माण सम्पन्न भई यही मंसिर ६ गते १ नं. प्रदेशका मूख्यमन्त्री सेरधन राईद्वारा उद्घाटन हुनुछ । यस सडकखण्ड बाह्रै महिना संचालनमा आएसँगै माप्य दुधकोशी तथा खुम्बु पासाङल्हामु गाउँपालिका र सगरमाथा क्षेत्र प्रवेश गर्नमा सहजता प्रदान हुनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार