सोलुखुम्बुका कुमार प्रयास ‘द भ्वाइस अफ नेपाल सिजन ५’ मा

  बुद्धवीर बाहिङ
19.8k Shares

काठमाडौं । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिमका कुमार प्रयास राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को ब्लाइन्ड अडिसनबाट ब्याटल राउन्डमा छनौट भएका छन् ।

‘तिमी तारे भीर म त लहरा’ भन्ने बोलको आधुनिक गीत गाउँदै कुमारले तीन वटा कोचको कुर्सी घुमाएका थिए । सुमधुर स्वरमा गीत गाएर कोच र दर्शकलाई मन्त्रमुक्ध पारेका थिए । उनले गीत गाइसकेपछि दर्शकबाट ‘वान्स मोर’ भनेर हुटिङ आएको थियो ।

ब्लाइन्ड अडिसनबाट छनौट भएका राई ब्याटल राउन्डमा प्रवेश गरेका छन् । यदि उनले ब्याटल राउन्ड पनि पार गरे नकआउट राउन्डमा प्रवेश गर्नेछन् । नकआउट पछि लाईभ राउन्ड हुनेछ ।

नेपाली सांगीतिक क्षेत्रमा उम्दा ताराको रुपमा आएका नव गायक कुमार प्रयास सोलुखुम्बु जिल्लाबासीको लागि नौलो नाम होइन । स्थानीय विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो दमदार प्रस्तुतीले परिचित नाम हो कुमार प्रयास । उनै प्रयास सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपालको सिजन ५’ मा तीन वटा कोचको कुर्सी घुमाउन सफल भएका छन् । उनले कोच प्रमोद, कोच मिलन र कोच उदयको कुर्सी घुमाउन सफल भए भने, कोच राजेशको कुर्सी घुमाउन नसकेपनि कोच राजेशबाट उनले गायकीको प्रशंसा पाए ।

तीन कोचले आफ्नो टिममा लिन निक्कै लामो प्रयास गरेका थिए । तीनै जना कोचले सोलुखुम्बु जिल्लामा विभिन्न सांगीतिक कार्यक्रममा गएको स्मरण गर्दै आफ्नो टिममा ल्याउन निरन्तर प्रयास गरिरहे । क्षमतावान प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन तीनै जना कोचले धेरै प्रयास गरे । तर, अन्तमा कुमार कोच उदय सोताङको गीत ‘आधिबाटो हिडेपछि तिमी सित भेट भयो’ भन्दै कोच उदयको टिममा गए ।

को हुन कुमार प्रयास ?

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला सोलुखुम्बुमा जन्मिएका कुमार प्रयास थुलुङ राई थुलुङ दुधकोशी गाउँपालिका लोखिमका स्थायी बासिन्दा हुन् । उनको बाल्यकाल लोखिममै बित्यो ।

विद्यालय पढ्दा कुनै प्रतियोगीतामा गीत नगाएका कुमारले उच्च शिक्षा अध्ययनको क्रममा भने विभिन्न कार्यक्रममा गीत गाएका थिए । उनी भलिबल खेल्न जिल्लाको सदरमुकाम सल्लेरी जाँदा पहिलो स्टेज चढेर गीत गाएका थिए । रियाज र तयारी नभएकाले उनी पहिलो चरणबाटै बाहिरिए । दोस्रो पटक उनी भलिबल खेल्नकै लागि महाकुलुङ गाउँपालिका गएका थिए । त्यहाँ पनि उनले सांगीतिक प्रतियोगीतामा गीत गाएका थिए । त्यहाँ उनले सान्तवना स्थान हासिल गरेका थिए । साथीभाईले गायनमा भाग लिन गरेको आग्रह र सेल्फ मोटिभेसनले अहिलेसम्म उनी नेपाली संगीतमा निरन्तर संघर्ष गरिरहेका छन् ।

कुमार जन्मिएको एक महिनापछि बाबा रोजगारीको शिलशिलामा भारत गएदेखि अहिलेसम्म फर्कनु भएको छैन । उनी ४ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेपछि उनको बाल्यकाल मामा घरमा बित्यो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)ले उनको आमालाई सदाका लागि यो संसारबाट लग्यो । सानै उमेरदेखि आमा बाबाको माया गुमाएका कुमार अहिले नेपाली सांगीतिक क्षेत्रमा उम्दा ताराको रुपमा उदाएका छन् ।

नेपाली संगीतमा राम्रो छवि बनाएका कुमारले विभिन्न नेपाली गीत गाईसकेका छन् । उनले ‘ऋणै ऋणको भारी बोक्दै’, ‘जुनको आँशु’, ‘प्रवेश निषेध’, ‘मारेको छ नी हौ’, यीम्पी र ‘मिठुको भट्टी पसल’ जस्ता चर्चित गीत दर्शक, श्रोतामाझ पस्की सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार