जनताको काङ्ग्रेस बनाउने कि ?

Facebook Debugger

सोलुखुम्वु अक्सर विश्वमा सगरमाथाको विख्यातीले कम प्रचार भएको जिल्ला ।

प्रकृतिको अनुपम छटाले सोभित भूमि । जति प्रकृति र पर्यटनको उपमा हो सोलुखुम्वु त्यतिनै राजनीतक परिवर्तनको आधार भूमि समेत हो । ०३१ पछिको नेपाली काङ्ग्रेस र मुलतः विश्वेश्वरप्रसाद कोइरालाको राजनीति जीवन दृष्टि मा अभूतपूर्व परिवर्तन गरि युद्ध र द्वन्द्वको विकल्प वार्ता, छलफल र मेलमिलाप हो भन्ने मान्यताको जननि समेत हो सोलुखुम्वु ।

वीर योद्धा क्याप्टेन यज्ञ वहादुर थापा र विद्यार्थी नेताद्वय राम, लक्ष्मण उपाध्यय जस्ता होनाहार प्रजातन्त्र सेनानी गुमाउनु नपरेको भए सायद कोइरालाले आफ्नो दृष्टिकोण मा परिवर्तन ल्याउनु हुने थिएनकी ?

हरेक लोकतन्त्र प्रेमीहरूले अवलोकन गर्नैपर्ने यही राजनीति तिर्थ स्थलको काख बाट काङ्ग्रेससँगका केही संस्मरण यहाँ समावेश छन् ।

म सानै थिए । सानो बालकमा त्यति ठुलो राजनितीक चेतना हुने कुरै भएन तर स्कुलमा डट कापि हराउँदा हामी साथिहरू भन्थ्यौं । यो ‘‘कस्को भनेर ? मलाई त्यस्तै लाग्थ्यो । म कान थापेर सुन्दथें । काङ्ग्रेस ( कस्को ? गगन भेदी नारा घनकन्थ्यो ( जनताको ! फेरि नारा कराउँदै भन्थ्यो जनता ( कस्को ? उस्तै आवाज आउँथ्यो ( काङ्ग्रेसको । म बडो अचम्मित हुन्थें । कहिले काङ्ग्रेसको । कहिले जनताको । मरो बाल मस्तिष्कमा एउटा जिज्ञासा घुमिरह्यो ।

आखिर काङ्ग्रेस र जनताचै हुनको ? मेरो यो जिज्ञासा लामो समय अनुत्तरित नै रह्यो । स्तर क्षमता र बुझाईको तहमा आज पनि यो जिज्ञासाका सबै जवाफ सायद म दिन सक्दिनँ होला ।

राजनीति मेरो चासोको विषय बन्नुमा हाम्रो पारिवारिक पृष्ठभूमि पनि होला । मेरो पिताश्री(निरकुमार शर्मा कटेल)ले पन्चायत कालको नोकरी छोडेर तात्कालिक राजनितीमा होमिनु भो । सामन्ती शैलीका विरूद्धमा । रोजगारीमा निरन्तरता दिने भए ( “मुगाको वर्को, स्टिलको लौरो र एकाध भारी पराल“ कसैलाई घुस दिनु पर्ने । एउटा नव जवान युवाका लागि यो सह्ये हुने कुरै भएन । उहाँले यस्लाई अस्वीकार गर्दै जागिरे जीवन त्याग्नु भो र निष्ठाको पेशा अवलम्बन गर्नुभो ।

जस्को परिणाम स्वरूप उहाँले ०४२ को पञ्चायति निर्वाचनमा साविक नेचावेतघारी गाउँ पञ्चायत ३ वडा हालको बजार क्षेत्रबाट वडा अध्यक्षमा विजय प्राप्त गर्नु भो जस्को जगमा उहाँ आजपनि सक्रिय राजनीतिमा सामेल हुनुहुन्छ । न कुनै स्वार्थ । न कुनै लोभ र पापमा । बरू लोभि र पापिहरूको पटक पटक अचानु बनीनै रहनु भएको छ । उहाँको निष्ठा प्रतिको स्थिरता र अविचलनले मलाई पनि ठुलो आकर्षण दिई रहेको छ । अर्काे रमाइलो पक्षत के भने प्रेसको अभाव रहने त्यो समयमा निर्वाचनको सम्पूर्ण प्रचार सामग्रीको प्रबन्ध चित्रकार प्रतिमान राई प्रतापले तयार पार्नु भएको थियो । चुनाव चिन्ह शंखको आकृतिको सुन्दरता यति थियो कागजमा तयार पारेको शंख साच्चै बजिजाने जस्तै । त्यसैले रहेछ, आज पनि प्रताप आर्ट प्रशंसित छ कला क्षेत्रमा ।

राजनीतिका अनेक बहावसँगै ०४६ पछि हाम्रो झुपडी पनि काङ्ग्रेस भयो । उत्साहि काङ्ग्रेस जवानहरूले घरको माथिल्लो पट्टी ठुलो झन्डा गाडे । ताली बजाए । पिताश्रीलाई सिन्दुर र माला लगाई दिए । घरमा झन्डा र पिताश्रीलाई टीका माला पछि घरै काङ्ग्रेस भयो । अब भाषा र भाव फेरीयो । आगन्तु र शुभेच्छुकहरू फेरिए । फेरि नयाँ शव्द भित्रीयो ( जय नेपाल ! हाम्रो एक घरमा प्रहरीका जवान बस्दथे । तिनले आफ्ना हाकिमलाई तनक्क तन्कदै भन्थे ( जय नेपाल साव । मलाई यो जय नेपाल सावले थप भय वित बनायो ।शसङ्कित बनायो । आखिर के हो जय नेपाल ?

बीपी केइरालाको तस्बिर मैले पहिलो पटक मित्रलाल शर्मा जमरकट्टेलको घरमा देखेको थिएँ । उहाँ साच्चै आस्थाको सतिशाल जस्तै मान्छे । जीवनको उत्तरार्धसम्म उहाँले मलाई अत्यन्त स्नेह गर्नुहुन्थ्यो । प्रेरणा दिनुहुन्थ्यो ।

ममा काङ्ग्रेसको बैचारिक प्रभावको आधार दिनुभो ।

उहाँका घरमा कालो टोपी, मोटो चश्मा र फुलेको दारी भएको बिश्वेश्वर प्रसाद कोइराला लेखेको तस्बिर ठुलो आदर्शका साथ रहने गर्थ्यो । मलाई यस अर्थ सोलु काङ्ग्रेसमा उहाँको नाम मन पर्छ । मसँगका अनेक अन्तर संवादमा उहाँले अरू आदरणीय व्यक्तित्वहरूको चर्चा गर्नुभो । बीपी र अरू नेताहरूको जानकारी दिनुभो तर आफ्नो लगानि, मेहेनत र परिश्रमका बारेमा कहिल्यै भन्नू भएन । स्तम्भकारले सम्पादन गरेको मेलमिलाप स्मारिका २०७१ मा उहाँको विवरण अन्य महानुभावबाट लिएर तयार पारेको थिएँ । आज उहाँ हाम्रो माझमा हुनुहुन्न ।
०४८ पछिको कुनै हिउँदको महिना हुँदो हो ।

हामी केटा केटी नै थियो । सानामा डन्डी वियो र गेम खेल्ने चलन खुव हुन्थ्यो । हामी त्यस्तै केही खेल्दै थियौँ । केही घोडामा चडेका मान्छेहरू हामीले खेल्दै गरेको ठाउँ नजिकको बाटोबाट आए ।आज जसरी सवारीका साधन हेर्न गाउँका केटा केटी कुद्छन् । त्यस्तै थियो घोडा हेर्ने चलन त्यति बेला । घोडा आउना साथ हामी खेतको डिलमा पुगिहल्यौँ । नभन्दै घोडामा ठुला बडाहरूकै आगमन रहेछ ।हामीले सबैलाई नमस्कार गर्याै । घोडा कति थिए त मलाई स्मरण भएन तर एउटा घोडा हामी उभिएको ठाउँमा रोकियो । पछाडिका घोडाहरू क्रमशः रोकिए । अनि तिल चामले कपाल भएका घोड श्वास मान्छेले हामीले गरेको अभिनन्दनलाई स्विकारेको इसारामा ।घर सोधे । हामीले घर दखाउँदै गर्दा नै उनले भने “नमस्कार होइन जय नेपाल भन “उनी आफैले हात जोडेर हामीलाई जय नेपाल भन्न सिकाय ।

त्याहाँ मेरा भाइ हेमजी लगायत हामी केही केटा केटी थियौँ । हामीले चर्काे स्वरमा जय नेपाल भन्यौँ । उनले जाँदै भने म बलबहादुर केसी । काङ्ग्रेसको नेता । घोडाका टापले कान बज्दा पनि निकै बेर सम्म “जय नेपाल भन “कानमा गुन्जी रह्यो । एउटा नेताका रूपमा आफ्नो राजनिती अभिवादन सिक्ने पहिलो प्रशिक्षण हामीले त्यही सक्यौँ र आज त्यहीँ अभिवादनको राजनीति र सामाजिक अर्थखोज्ने चरणमा हामी सङ्घर्षरत छौं ।

कृष्णप्रसाद भट्टराई । नेपालको प्रजातान्त्रिक आन्दोलनको सम्मानित नाम । उहाँले ०५१ को आम निर्वाचनमा नेचामा विशाल आम सभालाई सम्वोधन गर्नुभो । हामी सानै थियो । तत्कालीन अवस्थामा भट्टराई भन्दा उनी सवार हेलिकप्टर हेर्नु हाम्रो रोजाइ थियो । हामीले आँखा भरी हेली हेर्याैं । त्यतिबेला राप्रपा थियो काङ्ग्रेसको मुख्य प्रतिपक्ष । स्कुलमा दलको कार्यक्रम गरेको आरोप राप्रपाले लगायो । कालो झण्डा देखायो ।त्यतिबेला त्यो रमिता मात्रै थियो मेरा लागि ।पछि मैले भट्टराईको राजनीतिक जीवन दृष्टि को अध्ययन गरे । त्यस पछि राप्रपा र त्यसका स्थानीय नेता प्रति ठुलो घृणा जाग्यो मलाई । भट्टराईको नेचा यात्रा जति चर्चित थियो त्यतिबेला सोलु राजनीतिमा त्यतिनै आशालाग्दो उनको अभिव्यक्ति । उनले आफ्नो छोटो तर सारगर्भित मन्तव्य राखे ।मैलेत खासै बुझिन तर तालीमा तालि बजाए मैले पनि । पछि जानकारहरूबाट बुझे भट्टराईले “ काङ्ग्रेसले निर्वाचन जिते नेचामा एक अस्पताल र कलेज स्थपना गर्ने“ उदघोष गर्नुभएको थियो । काङ्ग्रेसका स्थानीय नेताको अदुरदर्शिता र जिल्ला नेतृत्वको बेवास्ताको सिकार भएको छ यो अभिव्यक्ति आजसम्म । अन्तर्राष्ट्रिय स्तरमा यतिको उचाइ भएका नेताको सार्वजनिक भाषणको मिडिया र बुद्धिजीवीहरूले खोजि गर्छन् । सवाल उठाउँछन् । नेतृत्वलाई झक्झकाउँछन्।आलोचना र टिप्पणी गर्छन् । तर नेपालमा व्यवस्थाभन्दा व्यक्ति केन्द्रीत राजनीति भएकाले यो माग राख्ने वा यसमाथि पैरवी गर्ने स्तरनै राख्दैनन् ।

यस उपर स्तम्भकारको एक मत राख्ने धृष्टता गरेको छ । राष्ट्रिय राजनीति को यो उचाइको राजनेताको स्मृतिमा देशै भरि कुनै प्रतिष्ठान, अध्ययन केन्द्र वा अरू कुनै संस्था नखोलिनु आफैमा दुर्भाग्यपूर्ण छ । उहाँको सम्मान, स्मृति र उहाँकै योजना अन्तरगत स्थापना भएको हिमाल दर्शन क्याम्पसको नाम “कृष्णप्रसाद भट्टराई मेमोरियल कलेज“ किन नराख्ने ? त्यसो त “व्यक्ति, समुदाय र इच्छा बमोजिमका प्रतिष्ठान र अध्ययन केन्द्र नाममा गरिने अरवौको लगानी खोलाको पानी जस्तै बन्दा भट्टराईको सम्मानमा यस क्षेत्रमा “कृष्णप्रसाद भट्टराई स्मृति हस्पिटल “सञ्चालन गर्न किन नहुने ? अब यस क्षेत्रको राजनीति गर्ने काङ्ग्रेस नेतृत्वले विगतका आफ्ना दलका नेताको अभिव्यक्ति र घोषणाको कार्यान्वयन तर्फ ध्यान दिन सकेन भने काङ्ग्रेस थप कमजोर र गतिहिन बन्ने पक्का छ । अबको स्थानीय, प्रदेश र संघिय निर्वाचनको एक जवर्जस्त एजेन्डा काङ्ग्रेसको यहि हुनुपर्छ ।

यो नै कृष्णप्रसाद भट्टराई प्रतिको सच्चा सम्मान पनि हो ।

दिन र बर्षहरू बित्दै गए । ०५५ तीर तत्कालीन सभामुख (रामचन्द्र पौडेल) हाम्रो घरमा बस्नुभो । तुलसीको मठमा गायत्री जाप गर्नुभो । दूध पिएर निष्कनु भो । मैले उच्च पदस्थ व्यक्तित्वलाई आफ्नै आगनमा देखेको यो नै पहिलो थियो ।

संसदको सभामुख । राज्यको पाँचौ वरियताको मान्छे ।

माथिका सवालहरू हेर्दा फरक लागेपनि काङ्ग्रेसको निर्माण, विश्वास र आकर्षणसँग सम्बन्धित विषय छन् भन्ने अर्थमा उल्लेख गर्ने प्रयास मैले गरेँ ।

समय र सन्दर्भले एउटा संस्था प्रति यतिठुलो विचलन र भ्रान्ती ल्याउँदो रहेछ । जो २०१५ को आम निर्वाचन मा ४ सिटमा सिमित भएको कम्युनिस्ट पार्टी र त्यसताको दुई तिहाइको शक्तिशाली नेपाली काङ्ग्रेसको तुलना गर्नुहोस् ।

तत्कालीन कम्युनिस्टको एजेन्डा । आन्दोलनमा तिनको उपस्थिति । जनपक्षीय सवाल र सान्दर्भिकता । अनि बीपी कोइरालाको क्रान्तिकारी सोचले सङ्कल्पीत नेपाली काङ्ग्रेसको योजना र राष्ट्र विकासको मार्ग चित्र । यो ठुलो अन्तर आजका पुस्ताको अध्ययनको विषय वन्नु पर्छ ।

राणाबाट सुरूभएको काङ्ग्रेस सफायालाई ०१७ पुस १ गते राजाले औपचारिक रूप दिन खोजे । एमालेहरूले २०२७ र०२८ सालतिर झापामा कांग्रेस सफाया सुरु गर्याे । माओवादीहरूले पुनः २०५७ र ०५८ मा रोल्पामा कांग्रेस सफायाको अभियान नै बनाए । तर काङ्ग्रेसको लोकतन्त्र प्रतिको अटल जन विश्वास र लगावका कारण काङ्ग्रेसलाई कसैले सिध्याउन सकेनन् । बरू, तिनीहरू नै काङ्ग्रेसको उदार हृदय देखे र लज्जा बोध गरि नै रहे । जस्को उदाहरण ०४६ पछि मदन भन्डारीले भने (मनपर्ने खाजा मम र नेता बीपी कोइराला । अनि पुष्पकमल दाहालले भने (बीपी मेरो प्रेरणाको स्रोत । त्यसो हुँदा काङ्ग्रेस यो माटोमा उभिने सबै जनताको आस्था हो । गन्तव्य हो । सुरक्षा हो र वर्तमान पुस्ताको भविष्य समेत हो, रहेछ भन्ने बुझाइमा गल्ति हुने छैन ।

यस अर्थमा काङ्ग्रेस कस्को भन्ने बुझाई लाई काङ्ग्रेस आफैले आफ्नो सङ्गलो संगठनका साथमा काङ्ग्रेस हुनमा यश अर्थले गर्व छ भन्ने विश्वास जगाउनु आजको साँचो खाँचो हो ।

बीपी कोइरालाका अनुसार (“नेता भिडको पछि लाग्ने होइन भीडलाई पछि लागाउन सक्नु पर्छ ।“ पछिल्लो काङ्ग्रेस नेतृत्व यसै मान्यता बाट च्युत हुँदै जानाले आज काङ्ग्रेस जनताको हुनसकेन ।जतिवेला सम्म राजनीति दल श्रमजीवी, गरिव र उत्पीडित हरूको बन्न सक्दैन तब सम्म दलका नामको दलदल भन्दा केही रहने छैन ।आज काङ्ग्रेस र काङ्ग्रेसी हरू यही दल दलको सिकार भएका छन् ।

०४६ पछि सत्ताको स्वादमा डुबेको काङ्ग्रेस नेतृत्वले देशलाई धेरै योगदान दिनु पर्ने थियो ।त्यो राष्ट्रिय अविभाराको सुनौलो अवसर गुमाएर टिठ लाग्लो अनुहार लिएर तिनै तहका सिहदरवार बाहिर चिहाइरहेका रमिते काङ्ग्रेस नेतृत्वको अवको अधिवेशन र आम निर्वाचनको एजेन्डाहरूमा इमान्दार वहसको समय हो यो । तीन दर्जन वडी काण्डमा पौडिएको खड्ग प्रसादको यो सरकार का कर्तुत खोज्नै आफै अदालत बनाइ जनतामा पैरवी गर्न नसक्ने वर्तमान नेतृत्व पङ्तिमा यो भन्दा ज्यादा विश्वास गर्नु पनि गधा धोएर गाई बनाउने कुचेठ्ठा गर्नु मात्र हुनेछ ।

यदि यो विचार निश्तेज हुन्छ भने (आज काङ्ग्रेस डन र धनको भएको छ । विचौलिया र व्यापारिहरूको भएको छ। सरकारको नेतृत्वमा भएका अपराधहरूको भण्डाफोर गर्न नसक्दा अरूधेरै आशंकाको घेरामा काङ्ग्रेस छ भन्दा फरक नहोला। सत्ता सँग नियुक्ति को भाग खोज्ने भिखारी जस्तो भएको छ । अनि कसरी काङ्ग्रेस लाई भनौ जनताको ?

नेतृत्व प्रतिको लम्पसारवाद र आफ्ना शक्ति केन्द्र हरूको स्वस्तिगानले काङ्ग्रेस लाई जनताको कहिलै बनाउने छैन । बरू थप कमजोर र गतिहिन मात्र हुने छ ।

जनतालाई देश काल को जानकारी दिदै श्रमजीवी, गरिव र उत्पीडितहरूको दल बानाउदा मात्र भनौला (काङ्ग्रेस कस्को (जनता ! जनता कस्को (काङ्ग्रेसको ! यहि अनागत दिनको पर्खाइमा छन् लाखौ काङ्ग्रेसी जन । [लेखक : सामाजिक लोकतन्त्र अध्ययन केन्द्र सोलुखुम्वुका सचिव हुन ।]

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार