५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

कांग्रेसले मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने 


६ श्रावण २०८१, आइतबार  

7
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो,’ प्रदेश सांसद रमेश महतले बताए ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । संविधानको धारा १६८ ९२० अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित छ ।

जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् । ‘विश्वासको मत मुख्यमन्त्रीले नपाएपछि दुई दलको बैठक बस्छौं,’ महतले भने, ‘प्रदेश प्रमुखले सरकार निर्माणका लागि आज आह्वान गर्नुभयो भने आज नै मुख्यमन्त्री दाबी पेश गर्ने तयारीमा रहेको बताए ।’

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ४६ बजे