साफ यु-२० फुटबलः नेपाल फाइनलमा

  सगरमाथा अनलाईन
112 Shares

काठमाडौँ । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेस गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा नेपालले बाजी मारेको हो । नेपालको जितमा गोलरक्षक जियारत शेख नायक बने । उनले भुटानको दुई पेनाल्टी बचाएका थिए ।

फाइनलमा नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । ५६औँ मिनेट मिनेटमा जेत्सन दोर्जीले गोल गर्दै नेपाली सर्मथकलाई निरास बनाए । त्यसपछि ७७ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि नेपालका निराजन धामीले ७७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिए । तेन्जिङकै फमा प्राप्त फ्रिकिक पासमा निराजनले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि सोझै टाईब्रेकरमा पुगेको खेलमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले पहिलो प्रहारमा गोल गरे । दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङतानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाएका थिए ।

त्यसपछि नेपालका सेमन्त थापाको तेस्रो प्रहार गोल भयो । भुटानका उग्वेन जिग्मेको तेस्रो प्रहारलाई जियारतले पुनः विफल पारेका थिए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरे ।

भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई १-० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोलले हराएर समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान प्रतिस्पर्धाले प्रतिस्पर्धा गरेका थिए । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार