ललितपुर, १२ मङ्सिर । मौरीमा सुलसुले किराले गर्दा गोला नै नष्ट हुने सम्मको समस्या आएपछि सुलसुले व्यवस्थापन कार्यक्रम सुरु भएको छ ।
गोदावरीस्थित मौरी विकास शाखाले मौरीपालन बढी हुने जिल्लालाई लक्षित गरेर पहिलो चरणमा रुपन्देही, स्याङ्जा र मोरङ जिल्लामा कार्यक्रम सुरु गरेको वरिष्ठ मौरी विज्ञ तीर्थकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै जिल्लामा माग भएकाले अरू जिल्लामा पनि कार्यक्रम विस्तार गर्ने योजना छ ।”
सुलसुले किराले मौरीको रगत सोसेर खाने हुँदा उड्न नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मौरी आफैँ खानेकुरा खोजेर खानुपर्ने भए पनि उड्न नसकेपछि आहाराको अभावमा मर्छ ।” एक÷दुई गर्दै सिङ्गो गोला नै नाश हुने उहाँ बताउनुहुन्छ । किरा व्यवस्थापनसम्बन्धी कार्यक्रम धेरै ठाउँबाट माग भए पनि पूरा नसकिएको वरिष्ठ मौरी विज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाले सतही कार्यक्रम गरे पनि लक्षित कार्यक्रम गर्न नसकेकाले कार्यालयमा नै माग हुँदै आएको छ ।” अहिले मौरीपालन गरिरहेका किसान र मौरीपालन गर्न चाहने नयाँ किसान दुवैले कार्यक्रमको माग गरिरहेका हुन् । नेपालमा अहिले झन्डै एक लाख २० हजार घार मौरीपालन भइरहेको छ ।







