काठमाडौँ, १९ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले सरकार संविधान संशोधनभन्दा निर्वाचनमा लाग्नु उत्तम विकल्प भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले ९० प्रतिशतभन्दा धेरै सांसदको हस्ताक्षरमा निर्मित संविधानको संशोधनको आवश्यकता नरहेको स्पष्ट पार्दै भन्नुभयो, “अधिकांश जनता र सांसदको समर्थन छैन, के का लागि संविधान संशोधन ?”
सांसद पौडेलले प्रदेश नं ५ लाई टुक्र्याएर मुलुकलाई राजनीतिक अराजकतातर्फ लैजान खोजिएको आरोप लगाउँदै ‘संशोधन प्रस्ताव पारित नहुने भएकाले’ उक्त दर्ता फिर्ता लिनु नै राम्रो हो भन्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संशोधन प्रस्ताव जनताले नचाएकाले यसलाई अगाडि बढाउनु आवश्यक नरहेको बताउनुभयो । सांसद रायमाझीले संविधान निर्माण जस्तै संविधान संशोधनमा पनि राष्ट्रिय खाँचो औँल्याउँदै भन्नुभयो, “विवाद निम्त्याउने गरी संविधान संशोधन गरे मुलुक द्वन्द्वतिर धकेलिन्छ ।”
उहाँले मधेसी– दलले संविधान संशोधनलाई आत्मासात् नगरेकाले संविधान संशोधनलाई थाती राखेर वा फिर्ता लिएर निर्वाचनमा जानु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित अर्काे साक्षात्कारमा पार्टीभित्र यसबारे कुनै छलफल नभएको बताउँदै भन्नुभयो, “पाँच न प्रदेशमा रहेका रूपन्देही, पाल्पा, अर्घाखाँची लगायत जिल्लालाई ४ नम्बरमा राख्नुपर्ने माग कहीँबाट कसैले पनि गरेको छैन, त्यो माग न आन्दोलनकारीले गरेका छन्, न जनताले, संशोधन प्रस्ताव किन ल्याइएको हो, म आफँै अचम्म परेको छु । ”
पाँच नं प्रदेशबाट केही जिल्लालाई छुट्टयाएर ४ नंमा राख्ने संशोधन प्रस्ताव मधेसकेन्द्रित दलले स्विकार्नु गलत हुने संसदीय दलका उपनेता समेत रहनुभएका नेता रायमाझीको भनाइ छ । जनताको चाहना विपरीत संशोधन प्रस्ताव ल्याएको जनाउँदै नेता रायमाझीले त्यसविरूद्ध संसद्, सडक र दलभित्र समेत तीव्र सङ्घर्ष गरिने बताउनुभयो ।