२७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025

अङ्गीकृतलाई संवैधानिक पद दिन नसकिने



दमौली, २५ कात्तिक । नेपाली काँग्रेसका नेता डा रामशरण महतले निलम्बित अख्तियार दुरुपयोग आयोग प्रमुखका विषयमा काँग्रेसले निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

भिमाद युवा क्लबद्वारा आजदेखि आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै डा महतले नेपाली काँग्रेस ठूलो र जिम्मेवार पार्टी भएकाले अहिले केही बोल्दैन जब निर्णय गर्ने समय आउँछ अनि मात्रै राष्ट्रको हितमा हुनेगरी कदम चाल्छ भन्नुभयो । उहाँले अङ्गीकृतको नागरिकता लिएको व्यक्ति संवैधानिक तहको उच्च पदमा रहने व्यवस्था र हिन्दी भाषालाई मान्यता दिने कुरा काँग्रेसले नमान्ने बताउनुभयो । नेकपा(एमाले)लाई पनि साथै राखेर आवश्यक विषयमा संविधान संशोधन गरी अगाडि बढ्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा सांसद टुकराज सिग्देल, प्रजिअ दीपक सुवेदी, काँग्रेस नेता जितप्रकाश आले, पुष्प पराजुली, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णराज पण्डित, भिमाद युवा क्लबका अध्यक्ष नारायणप्रसाद लम्साल, उपाध्यक्ष गोपालप्रसाद पराजुली, क्लबका पूर्वाध्यक्ष विजयराज सुवेदी लगायतले मुलुकभित्रको समस्या समाधान गर्न खेलाडी र खेलप्रेमी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७३, बिहिबार  १ : ४९ बजे