४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

काँग्रेसलाई प्रतिपक्षको कुर्सी खाली छ, यज्ञराजलाई मन्त्री बनाउछौँः नेता नेपाल



ओखलढुंगा– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनको विशाल चुनावी सभालाई ओखलढुंगामा सम्बोधन गर्दै नेता नेपालले देशमा अब वामपन्थीको सरकार बन्ने ठोकुवा गर्दै काँग्रेसलाई राम्रो प्रतिपक्षको कुर्सी तयार गरिदिने बताउनुभयो । माओवादी नेता नारायण शर्मालाई लिएर चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले देशको समृद्धि र विकासका लागि वामपन्थीको सरकार आवश्यक भएको बताउनुभएको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो– ‘यो देशमा अब वामपन्थीले काँग्रेसका लागि प्रतिपक्षको कुर्सी स सम्मान दिने छन् ।’ कम्यनष्टहरु मिलेर अधिनायकवाद लागु गर्न लागेको भन्ने आरोपको कटाक्ष गर्दै नेता नेपालले लोकतन्त्र काँग्रेसको व्यापार नभएको बताउनुभयो ।
ओखलढुंगाको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न जिल्लाबासीलाई आग्रह गर्दै नेता नेपालले दुइ पटक बहुमत ल्याएको काँग्रेसले विकास भन्दा बढी विनाश गरेको दावी गर्नुभयो । लोकतन्त्र र विकासका लागि वामपन्थीसँग स्पष्ट खाका रहेको भन्दै उहाँले सामाजिक न्याय, विकास र समृद्धिका लागि कम्युनिष्टहरुसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण शर्माले वामगठबन्धनका उम्मेदवाहरुलाई जिताउन आह्वान गर्दै ओखलढुंगाको विकासमा एमाले र माओवादीका नेताहरु जनताको सारथी भएर काम गर्ने बताउनुभयो ।
यज्ञराजलाई मन्त्री बनाउने नेता नेपालको उद्घोष
सभालाई सम्बोधन गर्दै नेता नेपालले ओखलढुंगाकाबाट वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवारलाई विजयी गराउन आग्रह गर्दै उहाँले जिल्लाका विकास गर्न मन्त्री बनाइ दिने घोषणा पनि गर्नुभएको छ । उहाँले भन्नुभयो–‘संभावना वोकेका युवा नेता यज्ञलाई जिताउनुहोस्, जिल्लाका विकास गर्न मन्त्री बनाउन म तयार छु ।’ उहाँले वाम गठबन्धनको नेतृत्व गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सुनुवारले जिल्लाको विकास निर्माण देखी संसदमा खेलेको भुमिकाको प्रशंशा पनि गर्नुभयो ।
कार्यक्रमलाई लक्षित गरि विष्फोट
जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनका कार्यक्रममा सहभागी आउने बस तथा जीपलाई लक्षित गरेर विष्फोट भएका छन् । सुनकोशी गाउँपालिकाको च्यानममा गठबन्धनका नेता तथा कार्यकर्ता चढेका जीपमा लक्षित गरि तीन ओटा हातेबम प्रहार भएका थिए । एक ओटा विष्फोट भए पनि क्षति भने भएन । त्यस्तै मोलुङ गाउँपालिका १ मा गठबन्धनको कार्यक्रमलाई लक्षित गरि सडकमा माइन बम राखिएको थियो । सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयल ओखलढुंगाले जनाएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाली काँग्रेसको पनि सभा सदरमुकाममा
गठबन्धनको चुनावी सभा तय भए पछि नेपाली काँग्रेसले पनि सदरमुकामै चुनावी सभा आयोजना गरेको छ । ढिलो गरि शुरु भएको कार्यक्रममा काग्रेस नेता बालकृष्ण खाणले सम्बोधन गर्नुभएको छ । नेता खाणले कम्युनिष्टहरुको ५० वर्ष शासन गर्ने सपना पाँच दिन पनि नटिक्ने ठोकुवा गरेका छन् । त्यस्तै नेतृ मृदुला कोइराला पनि चुनावी सभामा सहभागी हुन ओखलढुंगा आउनुभएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार  ११ : ०५ बजे