२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

विश्वको उत्कृष्ट गन्तव्य सगरमाथा क्षेत्र




सगरमाथा :
विश्वको तेस्रो ध्रुवको उपनामले चिनिने सगरमाथा हिमाल विश्वको सवैभन्दा अग्लो शिखर हो । सगरमाथा हिमालको उचाइको मापन सन् १८४५ देखि १८५५ सालभित्र भएको थियो । ब्रिटिस भारतको ट्रिगोनामिट्रिक सर्वेक्षणबाट पत्ता लगाई १५ औं चुलीको रुपमा सार्वजनिकीकरण गरियो । त्यक्तिबेला सगरमाथाको उचाई ८ हजार ८ सय ४८.१३ मिटर भएको घोषणा गरिए पनि सन् १९५० मा नेपालको भुगोलबाट सर्वेक्षण हुँदा सगरमाथा हिमालको उचाई ८ हजार ८ सय ४८ मिटर भएको प्रमाणित भयो ।
सन् १९७५ मा भएको चिनीयाँ टोलीको सर्वेक्षणले सगरमाथाको उचाई ८ हजार ८ सय ४८.१३ मिटर भएको भनी दावी गरे पनि सगरमाथाको विश्वभरी सर्वमान्य उचाई ८ हजार ८ सय ४८ मीटरनै कायम भयो । विश्वको सबैभन्दा अग्लो हिमाललाई इतिहासकार बाबुराम आचार्यले सन् १९६५ सालमा सगरमाथा भनी नामाकरण गरेका थिए ।
चिनीयाँ भाषामा सगरमाथालाई कोमोलुङ्गमा, तिब्बती भाषामा मिति गुती चापु लोङ्गमा भनिन्छ । विश्वभर सगरमाथालाई माउण्ट एभरेष्टको नामले चिनिन्छ । भू-सर्वेक्षण विभागका अध्यक्ष कर्नेल सर जर्ज एभरेष्टका नामबाट सगरमाथालाई माउण्ट एभरेष्ट नामाकरण गरिएको हो ।
सगरमाथा हिमाल नेपाल र चीनको सिमानामा २७ डिग्री ५९’१५” उत्तरी अक्षांश र ८६ डिग्री ५५’३९” पूर्वी देशान्तरमा रहेको छ । उत्तरी धु्रव र दक्षिण धु्रवपछि सगरमाथा हिमाललाई तेस्रो धु्रव समेत भन्ने गरिएको छ । सगरमाथा हिमाललाई शेर्पा समुदायले भगवानको रुपमा पूजा गर्दै आएका छन् ।

सगरमाथा हिमाल विश्वको सबैभन्दा अग्लो शिखर हो भनेर विश्वभरी समाचार फैलिएपछि विभिन्न देशका विदेशी नागरिकहरुले यसको शिखर चुमेर विजय गर्ने महत्वकांक्षा योजना बुने । वि.सं. १९४२ सालमा ल्किनटन डेस्टनले सगरमाथा आरोहण गर्ने प्रयास गरेपनि तत्कालिन राणा सरकारले बन्देज लगाएकाले उनको महत्वकांक्षी योजना सफल भएन । ३६ वर्षपछि अर्थात वि.सं. १९७८ सालमा बेलायती नागरिक जर्ज ग्यालोरिको नेतृत्वमा आएको टोलीलाई तत्कालिन राणा सरकारले अनुमति दिएको थियो । तर सो टोलीले पनि सगरमाथाको शिखर चुम्ने महत्वकांक्षी योजना सफल भएन । ४ वर्षपछि अर्थात वि.सं. १९८२ सालमा सो बेलायती टोलीले पुनः सगरमाथा आरोहण गर्ने प्रयास ग¥यो । त्यसबेला नेपालको बाटो भएर सगरमाथा आरोहण गर्न सजिलो ठानिएको थियो । तर ७ हजार मिटरको उचाईमा पुग्दा नपुग्दै आरोहीको मृत्यू भएको थियो ।
यसरी बेलायती आरोहण टोलीको सगरमाथामा मृत्यू भएपछि सगरमाथा आरोहण बन्द गरियो । तर २२ वर्षपछि अर्थात वि.सं. २००४ सालमा बन्दा गरिएको सगरमाथा आरोहण खोलिनु पर्ने चर्को आवाज विभिन्न देशका आरोहीहरुले उठाउन थाले । दुई वर्षपछि अर्थात वि.सं. २००६ सालमा सगरमाथा आरोहण गर्न पुनः खुल्ला गरियो । सगरमाथा आरोहण खुल्ला गरिनसाथ विश्वका विभिन्न देशका आरोहीहरु सगरमाथाको शिखरमाथी विजय हुन पुनः महत्वकांक्षी योजना बनाउन थाले । त्यसै क्रममा ४ वर्षपछि अर्थात वि.सं. २०१० जेठ १६ गते शुक्रबारका दिन नेपालका तेञ्जिङनोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले विश्वको सबैभन्दा पहिलो पटक सगरमाथाको शिखरमा मानव पाईला टेक्ने साहसिक व्यक्तिको नाम लेखाउन सफल भए । सगरमाथा हिमाल आरोहणको इतिहासमा शेर्पा र हिलारीले विश्व कीर्तिमानी कायम गरेका छन् । त्यसपछि सगरमाथा हिमालको आरोहणको क्रममा विभिन्न देशका आरोहीहरुले अनेकौं विश्व कीर्तिमानीहरु कायम गरिसकेका छन् । अझै विश्व कीर्तिमान कायम गर्ने क्रम जारी छ ।
ल्होत्से हिमाल :
लहोत्से (चिनीया भाषामा ल्होजेस, तिब्बतीमा ल्होर्तसेस, चीनीया भाषामा पिनयिनमासीग) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, केटू र कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८ हजार ५ सय १६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व) मा ८ हजार ४ सय १४ मिटर र ल्होत्से ८ हजार ३ सय ८३ मिटर रहेको छ । यो नेपाल, तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन र नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ । यो हिमालमा प्रथम आरोहण मे १८ सन् १९५६ मा स्विजरल्याण्ड फ्रिच्ज लुचसिङ्गर, अर्नस्ट रिसले गरेका थिए ।

तेङबोचे गुम्बा :
तेङबोचे गुम्बा विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मूल बाटोमा पर्ने भएकाले यो गुम्बा विश्व प्रसिद्ध छ । सगरमाथा क्षेत्र भ्रमणमा जाने र सगरमाथा आरोहण गर्ने आरोहीहरुले यस गुम्बामा पूजा गरेर मात्र अगाडियो पदयात्रा तथा आरोहण गर्न जाने प्रचलन नै बनिसकेको छ ।
यो गुम्बा जटङ क्षोतर लामाले १९१६ मा शुरु गरी १९१९ मा स्थानीय भक्तजनहरुको सहयोगमा निर्माण कार्य सकेका थिए । सन् १९८६ मा अमेरिकन हिमाल एण्ड हेरिटेज संस्थाको आर्थिक सहयोगमा तेङबोचे गुम्बाका टावाहरुको निवास र गुम्बा वरिपरिका होटल तथा लजहरुलाई स्मल हाईड्रो पावर प्लान्ट निर्माण गरी विद्युत सेवा दिएको थियो । तर सन् १९८९ जनवरी १९ तारिखका दिन विद्युत सर्ट भई आगलागि हुँदा नेपालकै अपार धार्मिक एवं साँस्कृतिक सम्पदा भएको तेङबोचे गुम्बा खरानीमा परिणत भएको थियो ।

आगलागि पश्चात सर एडमण्ड हिलारीको हिमालयन ट्रष्ट, अमेरिकन हिमाल एण्ड फाउण्डेशन एवं विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दाताहरुको सहयोगमा गुम्बाको पुनः निर्माण गरी सन् १९९३ मा महागुरु ठुल्सीक रिङपोछेले उद्घाटन गर्नु गरेका थिए । अहिलेको संरचना पनि गुम्बाको त्यही स्वरुपको छ ।
पाङबोचे गुम्वा : 
लामा साङ्वा दोर्जीले १६ औं शताव्दीमा निर्माण गरेको यो गुम्वा ३ हजार ८ सय ९८ मिटरको उचाइमा रहेको छ । यो शेर्पा समुदायहरूको अत्यन्तै ऐतिहासिक महत्वको गुम्वा हो । तान्त्रिक विद्यामा पारङ्गत लामा साङवा दोर्जीले आपूले सूर्यको किरणमा चढ्दा प्रयोग गरेको डोरी वौद्ध स्तुप आफ्नो प्रतिमा मूर्ति स्थापना गरेर राखेका थिए । यो हिमाली काखमा अवस्थित गुम्वामा प्रत्येक कात्तिक मंसीर महिनामा डुम्जी उत्सव मनाइन्छ । यो डुम्जी हेर्न पश्चिमा मुलुकका पर्यटकहरूका साथै आसपासका भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो चाड पर्व स्थानीय बासिन्दाहरूले पालोपालो (लावा) बाट सम्पन्न गरिन्छ ।
यस गुम्वाको अर्को महत्वपूर्ण र सनसनाहट, रोमाञ्चकारी यतिको टाउको हो । यो उच्च हिमाली क्षेत्रमा पाइन्छ भन्ने किम्वदन्ती छ । यति संसारबाट लोप भइसक्यो भनेर भन्ने गरेको पनि सुनिन्छ । जेहोस् यति त्यस्तो चीज हो जसले नक्कल धेरै गर्दछ । मानिसले दिउँसो जे गर्दछ, उसले कतैबाट हेरेको हुन्छ अनि यतिले उसको अनुपस्थितिमा त्यो सबै गर्दछ भन्ने किम्वदन्ती छ । आजसम्म कसैले पनि यतिको फोटो लिन सकेको छैन । यो शेर्पा जातिको कथामा सीमित छ र मानवशास्त्रका विद्यार्थीहरूका लागि यो सोधको विषय बनेको छ । उच्च पहाडी चौंरी र याक गोठालाका अनुसार आजभन्दा १०-१५ वर्ष पूर्व हिउँमा तथा बालुवामा यतिको पदचिन्ह देखिएको थियो भनिन्छ । हिमालको काखमा कराएको (गर्जेको) टाढाबाट सुनेको भन्ने पनि भनाइ सुनिन्छ । जे होस् यति दुर्लभ छ, प्रमाण दिन गाह्रो मात्र होइन असंभव पनि छ ।
सन् १९५७ देखि १९५९ सम्म अमेरिकी एक सोधकर्ताहरूको समूह फोटो क्यामेरा, टेलिस्कोप र समात्ने जाल लिएर अनुसन्धानको क्रममा त्यस भेगमा रह्यो तैपनि कुनै यति देखेनन्, भेटेनन् । तर विगतमा देख्नेहरूले सुनाएकोलाई आधार मान्दा (जसले आफ्नै आँखाले देखेको दावी गर्छन्) झाँर छान्ने छपनी आकारको टाउकोमा कालो र खैरो केश भएको, अंगभरि त्यस्तै रौंले ढाकिएको तथा करीव ३ मिटर उचाइ भएको, शरीर भद्दा देखिने, चेहेरा कालो अनि हिपको रौं उँभो फर्केको हुन्छ । हातको पञ्जाहरू चिम्पाञ्जीको जस्तो र पैताला लचकदार हुन्छ । पुरुष यतिको रौं लामो हुन्छ भने स्त्री जातिको दूध तलतिर झरेको विश्वास गरिन्छ । यति चनाखो र तीक्ष्ण बुद्धिको हुन्छ । नाकको सुँघ्ने शक्ति भएको हुन्छ । आगो देखि डराउने र कामुक स्वभावको हुन्छ ।

विदेशी पर्यटकहरूले सन् १९२१ मा सोलुखुम्बु जिल्लामा प्रथम पटक यतिको पदचिन्ह देखेको दावी छ । शेर्पा संस्कृतिको भनाइ अनुसार यति देखिनु अशुभ लक्षण हो । यति देख्नेको जीवन छोटो हुन्छ । यो विश्वास गरिन्छ कि यतिलाई देख्ने मानिसको तत्काल मृत्यु हुन्छ । यतिले भेडा, वाख्रा, याक, नाक, र जोप्के मारेर पोथी जातिको थुन, मुटु, कलेजो गिदी खाई अरु भाग छाड्ने कुरा बताइन्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज :
सगमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज वि.सं. २०३२ सालमा स्थापना भएको थियो । यस राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राकृतिक अनुपम सुन्दरता, दुर्लभ जीवजन्तु र शेर्पा समुदायको सँस्कृतिलाई जगेर्ना गर्न वि.सं. २०३६ सालमा युनेस्कोले विश्व सम्पदामा सूचिकृत ग¥यो । यसैगरी वि.सं. २०५८ साल पुस १७ गते नेपाल सरकारले नाम्चे, खुम्जुङ र चौंरीखर्क गाविसका सम्पूर्ण क्षेत्रलाई समेटेर सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा ग¥यो ।
यसैगरी ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुङ र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, लङ्गूर बाँदर, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु) लगायत १ सय ९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज साँस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन ।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ भने मध्यवर्ती क्षेत्रको घोषणाबाट निकुञ्ज भित्र र वरपरका तीन गा.वि.स. का जनता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पर्यटनको विकासबाट यहाँका बासिन्दाहरूको आर्थिक विकासमा ठूलो टेवा पुगेको छ ।
गोक्यो ताल :
सोलुखुम्बु जिल्लाको खुम्जुङ गाविस स्थित प्रसिद्ध गोक्यो हिमताल २७ डिग्री ५८’४९” उत्तरी अक्षांशदेखि ८६ डिग्री ४०’०७” पूर्व देशान्तरमा फैलिएको छ । यसको क्षेत्रफल १ सय ९६.२ हेक्टर रहेको छ । यसको गहिराई ६२.४ मिटर छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो हिमताल समुन्द्र सतहबाट ४ हजार ७ सय मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य हिमतालहरू रहेका छन । ती हिमतालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको हिमतालहरु मध्ये पर्दछन् । यी तालहरूमध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो । सन् २००७ देखि गोक्यो हिमताल रहेको ७ हजार ७सय ७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

गोक्यो तालको धार्मिक महत्व : 
गोक्यो हिमताललाई हिन्दू तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १ हजार भन्दा बढी हिन्दू धर्मावालाम्बीहरुले प्रत्येक वर्ष अगष्ट महिनामा हुने जनैपूर्णिमाको दिन यहाँ स्नान गर्दछन् । औषतरुपमा हेर्दा प्रत्येक वर्ष यहाँ ७ हजार भन्दा बढि पर्यटक घुम्न आउने गर्दछन् । यो हिमतालको दक्षिणपट्टि हिन्दू देवता शिव तथा विष्णुको मन्दिर रहेको छ । जहाँ हजारौ श्रद्धालु आउने गर्छन् । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।
विश्वको उच्च सिमसार : 
सिमसारलाई अंग्रेजीमा वेटल्याण्ड भनिन्छ । कृतिम तथा प्राकृतिक दुवै रूपले सिर्जना भई बढीमा ६ मिटरसम्म गहिरो पानीले ढाकेको धापिलो जमिन, दलदले जमिन, ताल, तलैया, झिल, दह, कुण्ड, नदीनालाको सेरोफेरो, ढाव, घोल आदि सबै नेपालमा सिमसारको परिभाषाले समेट्ने क्षेत्र हुन् । प्रसिद्ध संरक्षणविद् डा. तीर्थबहादुर श्रेष्ठको परिभाषा अनुसार ‘सिमसार’ त्यस्तो जमिन हो, जहाँ पानी सुक्दैन र त्यस्तो जल क्षेत्र हो, जहाँ जमिन लुक्दैन । नेपालको राष्ट्रिय नीति २०५९ ले पनि सिमसारलाई पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृतिम रूपमा बनेको दलदल क्षेत्रको रूपमा परिभाषित गरेको छ । हाम्रो शरीरमा मृगौलाले झै पृथ्वीमा सिमसारले पानीलाई शुद्ध गर्ने र पानीको वहाबलाई निरन्तरता दिने गर्दछ । सिमसारको कारणबाटै हाम्रा पेय पानीका प्रमुख स्रोत जस्तै ताल, हिमताल, दह, नदीनाला, मूल र भूमिगत जलहरू स्वच्छ र जीवन्त भइहेका छन् । यसका साथै सिमसार क्षेत्रहरूले वाढी नियन्त्रण, भूक्षय नियन्त्रण, जैविक विविधताको बासस्थान, मनोरञ्जन र संस्कृति संरक्षण जस्ता पारिस्थितिकीय, आर्थिक, सांस्कृतिक तथा मनोरञ्जनका दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।
नेपालको हिमाली जिल्ला सोलुखुम्बुको खुम्जुङ गाउँ विकास समितिमा पर्नेे गोक्यो ताल शृंखला नेपालको उच्च भूभागमा रहेका महत्वपूर्ण सिमसारमध्येको एक मानिन्छ । गोक्यो ताल शृंखला विश्व सम्पदा सूचिमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको छ । त्यस शृंखलामा पर्ने ६ वटा ताल समुद्री सतहबाट करिब ४ हजार सात सयदेखि पाँच हजार चार सय मिटर उचाइसम्म लहरै फैलिएर रहेका छन् । नेपालको सबैभन्दा लामो ग्लेसियरका रूपमा परिचित ङोजोम्बा ग्लेसियर यिनै ताल शृंखलासँगै समानान्तर रूपमा फैलिएको छ । ङोजोम्बा ग्लेसियरबाट रसाएर आउने पानी र हिमालबाट आएका ससाना खोला नै तिनै तालका प्रमुख स्रोतका रूपमा छन् ।
गोक्यो ताल शृंखलाका ६ वटा तालमध्यको तेस्रो ताललाई, ‘गोक्यो ताल’ भनेर चिनिने गरिन्छ । यसलाई गोक्यो चो, दूध दह आदि नामले पनि सम्बोधन गर्ने गरिन्छ । करिब ४३ हेक्टर क्षेत्रफलमा फैलिएको गोकियो ताल, त्यस शृंखलाको सबैभन्दा गहिरो ताल हो । गोक्यो ताल धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले त्यस शृंखलाकै सबैभन्दा महत्वपूर्ण ताल पनि हो । त्यस ताल र वरिपरिको क्षेत्र बौद्ध तथा हिन्दू दुवै धर्मावलम्बीका लागि धार्मिक तथा सांस्कृतिक महत्व राख्ने पवित्रस्थल हो । त्यस तालको छेवैमा निर्मित भगवान् शिव र विष्णुको मन्दिरले त्यस तालप्रति रहेको अगाध धार्मिक आस्था एवं श्रद्धाभाव त झल्काउँछ नै । साथै त्यस ताललाई नाग देवताको बासस्थानका रूपमा पुज्ने परम्पराले यस तालप्रतिको धार्मिक श्रद्धालाई थप पुष्टि गरेको छ ।
गोक्यो शृंखलामा रहेका तालमध्ये गोक्यो चौथो, पाँचौं र छैटौंको बीचमा प्रत्यक्ष अन्तर्सम्बन्ध भने देखिँदैन । तर गोक्यो तेस्रोबाट दोस्रोमा र दोस्रोबाट पहिलोमा पानी बगेर आउँछ । गोक्यो पहिलोबाट पानीको अन्तिम निकाश निस्कन्छ । यसरी निस्केको पानी ङोजोम्बा ग्लेसियरबाट आएको पानीसँग मिलेर दूधकोशी नदी बनेको छ । दूधकोशी नदी त्यहाँबाट तलतिर बग्ने क्रममा इम्जाखोला, भोटेकोशी र अन्तमा सप्तकोशी नदीमा मिसिन्छ । र सप्तकोशी नदी भारतमा पुगिसकेपछि गंगा नदीमा मिसिन्छ । यसरी हेर्दा उच्च भूभागबाट बग्ने दूधकोशी नदी पवित्र गंगा नदीको शिरमध्येको एक मानिन्छ । नदीले आफ्नो यात्राको क्रममा तल्लो भूभागमा बसोबास गर्ने मानिसलगायत अन्य जीवजन्तुलाई स्वच्छ पानीका साथै अन्य कैयन सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
गोक्यो ताल शृंखला उच्च भूभागमा पाइने जैविक विविधताका विभिन्न प्रजातिको संगमस्थल मानिन्छ । यस क्षेत्रमा ८० भन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति पाइन्छन् जसमध्ये ४ किसिमका रैथाने वनस्पति छन् । यस शृंखलाका तालमा विभिन्न प्रजातिका घुमन्ते एवं रैथाने चरासमेत पाइन्छन् । यस क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृत, झारलजस्ता वन्यजन्तुहरूको वासस्थान रहेको छ । यसैकारण गोक्यो क्षेत्रलार्ई जैविक विविधताको ‘हट–स्पट’ समेत भन्ने गरिएको छ ।
गोक्यो उपत्यका त्यहाँका तालहरूको सुन्दरताको कारणले मात्रै नभएर विश्वकै उच्च हिमशिखरहरूको दृष्यावलोकन, पर्वतीय पदयात्रा, वन्यजन्तु तथा पक्षीहरूको अवलोकनका लागि प्रसिद्ध मानिन्छ । गोक्यो तालको शिरमा रहेको ‘गोक्यो री’ नामले चिनिने, उच्च स्थलबाट गोक्यो ताल शृंखलाला र सगरमाथा समेतको दृष्यावलोकन गर्न सकिने भएकाले, गोक्यो क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूले ‘गोक्यो री’ को समेत आरोहण गर्ने गर्दछन् । विश्वकै प्रमुख पर्यटकीय गन्तव्य नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा आएका मध्ये करिब एक तिहाइ पर्यटकले गोक्यो क्षेत्रको भ्रमण गर्ने गर्दछन् । एक तथ्यांकअनुसार यहाँ वार्षिक रूपमा करिब ८ हजार पर्यटक र तिनका सहयोगीसहित करिब १२ हजार व्यक्तिले भ्रमण गर्ने गरेको पाइएको छ । यसैले गर्दा, गोक्यो उपत्यका सगरमाथा राष्ट्रिय निकुञ्जमा पदयात्राको एक प्रसिद्ध गन्तव्य बनेको पाइन्छ ।
पर्यटकको अत्यधिक चाप रहने यस गोक्यो ताल क्षेत्रमा, पर्यटकको संख्यात्मक वृद्धिसँगै वातावरणको विनाशसमेत बढेको छ । यस क्षेत्रमा, वनजंगलको फँडानी, अतिचरिचरन, प्रदूषण एवं फोहोरमैलाको समस्या, भूक्षय, तालको अतिक्रमण, विश्वव्यापी तापक्रम वृद्धिसँगै हिउँं पग्लने जस्ता वातावरणीय समस्याहरू क्रमशः देखापरेका छन् । हिमाली क्षेत्रलाई जलवायु परिवर्तनको सूचकको रूपमा लिने गरिएको छ । गोक्यो क्षेत्रलाई यसको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । गोक्यो चौथो र पाँचौं तालमा पानीको मात्रा घट्दै गइरहेको छ । यसले विश्वव्यापी तापक्रम वृद्धिको असरको थप पुष्टि गरेको छ । यस ताल शृंखलासँगै समानान्तर रूपमा फैलिएको र अति सक्रिय मानिने ङोजोम्बा ग्लेसियर पनि तीव्र रूपमा पग्लिरहेको छ । स्थानीय बासिन्दाका अनुसार वितेका २५ वर्षको अवधिमा ङोजोम्बा ग्लेसियर करिब १० मिटर गोक्यो तालतिर बढेको पाइएको छ । तालमा माटो, बालुवा, गेग्रेयान जम्मा भएर ताल पुरिँदै गएको पनि देख्न सकिन्छ ।
अन्तराष्ट्रिय महत्वका सिमसारहरू खास गरी पानी हाँसको बासस्थानको संरक्षण गर्ने उद्देश्यले २ फेब्रुवरी सन् १९७१ मा इरानको रामसार भन्ने सहरमा सम्पन्न महासन्धिलाई रामसार महासन्धि भनिन्छ । रामसार ब्युरोले विश्वका सिमसारमध्ये पनि अनुपम र सबैभन्दा महत्वको सिमसारलाई रामसार क्षेत्रको रूपमा घोषणा गर्ने गर्दछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले रामसार महासन्धिको रखवालिको रूपमा यस महासन्धिको दूरदृष्टि भन्नाले स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमै अन्तराष्ट्रिय सहयोगमा वृद्धिगर्ने र विश्वस्तरमा सिमसारको दिगो उपयोग गर्न प्रोत्साहित गर्नु नै हो ।
नेपाल, रामसार महासन्धिमा सन् १९८७ देखि सदस्य रहिआएको छ । सिमसारको सदस्य राष्ट्रले, आफ्नो देशमा कम्तीमा कुनै एउटा क्षेत्रलाई रामसार क्षेत्रको घोषणा गर्नुपर्दछ । सोही अनुरूप नेपालले पनि, सोही साल कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलाई रामसार सूचीमा समाबेश ग¥यो भने सन् २००३ मा, नेपालको तराई क्षेत्रमा पर्ने अन्य तीनवटा सिमसार क्षेत्रहरू, चितवन जिल्लाको २० हजारी ताल, कपिलवस्तु जिल्लाको जगदीशपुर जलाशय र कैलाली जिल्लाको घोडा घोडी ताल क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरियो । यसै गरी सन् २००७ सेप्टेम्बर २३ तारिखका दिन नेपाल सरकारको सिफारिशमा रामसार ब्युरोले नेपालको हिमाली क्षेत्रमा रहेका चारवटा सिमसार, गोक्यो ताल शृंखला, गोसाइकुण्ड ताल समूह, रारा ताल र फोक्सुण्डो ताललाई रामसार सूचीमा सूचीकृत गर्यो भने २७ नोभेम्बर २००८ मा नेपालको मध्य पहाडमा पर्ने माइपोखरी पनि सो रामसारको सूचीमा सूचीकृत भयो । यसरी नेपालको एक हिमाली सिमसारको रूपमा परिचित रामसार मध्येको रूपमा परिचित, गाक्यो ताल शृंखलाको महत्वको दृष्टिकोणले गर्दा, गोक्यो सिमसार विश्वकै अनुपम प्राकृतिक सम्पदा मध्येको एक मानिन्छ ।
गोक्यो रामसारको संरक्षणमा नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्जले, र त्यसको दीर्घकालीन व्यवस्थापनका दृष्टिकोणले त्यस रामसारको संरक्षणमा रहेका चुनौतीहरूको एकीकृत रूपमा सम्बोधन गर्ने उद्देश्यले करिब १० वटा क्षेत्रमा बाडेर कार्यान्वयनको लागि सुझाबसहितको व्यवस्थापन योजना बनेको छ । र जुन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट स्वीकृत पनि भइसकेको छ ।
विश्वव्यापी रूपमै संरक्षणमा सक्रिय रहेको, एक अन्तराष्ट्रिय गैरसरकारी संस्था, डब्लु.डब्लु. एफलेसमेत, सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय बासिन्दाको सहभागितामा गोक्यो ताल शृंखलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डब्लु.डब्लु. एफको अग्रसरतामा त्यहाँका बासिन्दाले ‘गोक्यो ताल व्यवस्थापन समूह’ गठन गरेर संस्थागत रूपमा गोक्यो तालको संरक्षणमा सक्रियता देखाएका छन् ।
कमजोर बन्दै गइरहेका ती तालहरू र फैलिँदै गइरहेको ङजोम्बा ग्लेसियरको क्षेत्रफल नै खतराको सूचक घण्टी बनेका छन् । यस तालको संरक्षणमा स्थानीय तथा राष्ट्रिय रूपमा जे जति प्रयास चालिए पनि, विश्व व्यापी तापक्रम वृद्धिले गर्दा ङोजोम्बा ग्लेसियर तीव्र गतिमा पग्लनुका साथै त्यस ग्लेसियर र गोक्यो ताल शृंखलाबीचको दूरी घटेको कारणले गर्दा गोक्यो ताल शृंखलामा पर्ने तालहरू बढी जोेखिमयुक्त बन्दै गइरहेको पाइन्छ, जसको स्थायी समाधान स्थानीय एवं राष्ट्रिय प्रयासबाट मात्रै सम्भव छैन ।
विश्वकै उच्च हिमाली रामसार, एक स्वच्छ जलसम्पदाको भण्डारका रूपमा रहेको गोकियो ताल शृंखला सबैको साझा सम्पत्ति र अस्तित्वको धरोहर पनि हो । कुनै व्यक्ति वा संस्थाको एकल प्रयासले मात्र गोक्यो ताल र त्यस क्षेत्रको व्यवस्थापन सम्भव देखिँदैन् । विश्व समुदायले समेत विशेष महत्व दिएर रामसार सूचीमा सूचीकृत भइसकेको गोक्यो ताल शृंखलाको सुन्दरता जीवन्त राख्नु नै आजको आवश्यकता बनेको छ ।
चोलापास :
नेपालकै पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्जुङस्थित चोलापास पूर्वधार अभावमा जोखिमपूर्ण बन्दै गएको छ । बाह्रै महिना हिउँले ढाकिरहने यो पासमा एरो बोर्डसमेत नहुँदा विदेशीले बाटो भुलेर ज्यानसमेत गुमाउने गरेका छन् । धेरै पर्यटक पुग्ने र वर्षेनी पर्यटकको ज्यान लिने चोलापास पूर्वाधार अभावमा झन–झन जोखिमपूर्ण बन्दै गएको हो ।
सोलुखुम्बुको प्रसिद्ध पर्यटकीयस्थल गोक्यो तालको भ्रमण पूरा गरी सगरमाथाको आधार शिवीरतिर जाँदा पार गर्नुपर्ने चोलापास पूर्वाधार अभावमा जोखिमपूर्ण बन्दै गएको हो । समुद्र सतहबाट पाँच हजार ४२० मिटरको उचाइमा रहेको सोलुखुम्बुकै खतरनाक मानिने चोलापासमा राम्रो बाटोघाटो नभएका कारण दिनानुदिन जोखिमपूर्ण बन्दै गएको हो ।

बाह्रै महिना हिउँले ढाकिरहने चोलापासमा बाटो देखाउने कुनै सङ्केत छैन भने बर्से्नि तापक्रम वृद्धिले भू–बनावट परिवर्तन भइरहँदा भएका बाटोघाटोको नाम–निशाना भेटिँदैन, ग्लेसियर पग्लिएर ठाउँ ठाउँमा पोखरी र खर्पस बन्न थालेपछि यस क्षेत्रको बाटो झन कठिन बनेको पर्यटन व्यवसायीको भनाई छ ।
यसैका कारण चोलापास पार गर्ने क्रममा एक्लाएक्लै हिँड्ने कतिपय विदेशी नागरिक वर्षेनी हराउने गरेका छन् । साहसिक पर्यटकीय पदमार्गको नामले समेत चिनिने चोलापासमा भएको बाटो हिउँले पुर्ने वा हिउँ पग्लेर चलायमान हुने हुँदा पर्यटकहरू हराउने गरेका छन् ।
चोलापास पार गर्दा विभिन्न ठाउँमा भएका ढिस्काहरु छल्दै हिँड्नुपर्दछ । करिब आधा घण्टाभन्दा बढी समय हिउँले ढाकिएको अप्ठ्यारो बाटो अन्दाजको भरमा हिँड्नु निकै चुनौतीपूर्ण हुन्छ । चोलापासमा मात्र होइन चोलापास पार गरिसकेपछि पनि अप्ठ्यारो बाटो काट्नुपर्ने भएकाले यो पासलाई खतरनाक मानिएको ट्रेकिङ व्यवसायीहरुको भनाई छ ।
सगरमाथा आधार शिविर तथा कालापत्थरको यात्रा पार गरी गोक्यो ताल लगायतका क्षेत्र हेर्न चाहनेहरूले चोलापास गर्नैपर्छ वा गोक्यो क्षेत्रको भ्रमण सकेर आधार शिविर वा कालापत्थर जान चाहने हो भने पनि चोलापास पार गर्नैपर्छ । पर्यटकको समस्या समाधानका लागि ठाउँठाउँमा फलामको पोल गाडी डोरी टाँग्ने व्यवस्था मिलाउनुपर्ने ट्रेकिङ व्यवसायीको भनाइ छ ।
खुम्बु हिमनदी : 
खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथा र लोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ । यो ४ हजार ९ सय मीटर (१६ हजार १ सय फिट) उचाईमा सुरू भई ७ हजार ६ सय मीटर (२४ हजार ९ सय फिट) उचाईमा पुगेर टुंगिन्छ । यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो । हिमनदीको मुहान Western Cwm सगरमाथाको नजीक पर्दछ ।

हिम नदी हिउँको नदी हो । हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतह तर्फ सरेर बग्ने गर्दछ त्यसलाई हिमनदी भनिन्छ । हिमनदीको बहाब नदीको जस्तो तीब्र नभै एकदमै धिमा गतिको हुन्छ । दिनक १ मीटर देखि २० मीटर सम्मको गतिमा हिमनदी बग्ने गर्दछ । खुम्बु हिमनदी विश्वकै सबैभन्दा उचाईमा रहेको हिमनदी मानिन्छ ।
सगरमाथा क्षेत्रको पदयात्रा यसरी जानुस ?
सागरमाथा सोलुखुम्बु जिल्लामा पर्छ । सोलु तल्लो र खुम्बु माथिल्लो क्षेत्र हो । सगरमाथा क्षेत्र सोलुखुम्बुको माथिल्लो भागमा पर्छ । खुम्बु भेगमा प्रशस्त पर्यटकीय होटल र लज छन् । डिलक्स, टुरिस्ट र मध्यम खाले कुन होटलमा बस्न चाहनुहुन्छ ? सन् १९८५ मा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर कालापत्थर पदयात्रामा आउँदा बसेको खुम्बु लजको कोठा नं. १०५ डिलक्स यात्रुका लागि निकै प्रख्यात छ । जिमी कार्टर सुतेको कोठामा सुत्न पाउँदा पर्यटक दंग पर्छन्, फोटो खिच्छन् र चर्चा–परिचर्चा गर्छन् । सगरमाथा क्षेत्रमा करिब पाँच सय साना–ठूला होटल तथा लज छन्, जहाँ अनेक सुविधा उपलब्ध छ ।
विदेशमा नेपाल सस्तो गन्तव्यका रूपमा बढी परिचित छ । काठमाडौंबाट आधा घन्टाको उडानबाट लुक्ला पुगेपछि सगरमाथा पदयात्रा सुरु गर्ने कि रामेछापको बाम्ती भण्डारसम्म गाडीमा गएर त्यहाँबाट थालनी गर्ने ? तपाईसँग दुई विकल्प छन् । समय कम र यात्रा धेरै गर्ने हो भने लुक्लाको साहसिक र रोमाञ्चकारी हवाईजहाज उडानलाई छान्नुस । नेपाल कस्तो छ भनेर बुझ्ने हो र समय पनि छ भने रामेछापको बाम्ती भण्डारको बाटो रोज्नुस । सन् १९५३ मा तेन्जिङ र हिलारी पनि जिरीको बाटो भएर नै सगरमाथा शिखर पुगेका थिए । हिलारी हिँडेको त्यो बाटो ऐतिहासिक मार्ग मानिन्छ । पछिल्लो समय सगरमाथाको प्रवेशद्वारका रूपमा चर्चित लुक्लासम्म जहाजबाट सिधै जाने क्रम बढेको पर्यटन व्यवसायी बताउँछन् ।
तल्लो सोलु भएर सगरमाथा पुगिने बाटो केही लामो छ । पर्यटनको स्वाद दोलखा, रामेछाप, ओखलढुंगा र सोलु भएर हिँड्ने यात्रुले पाउने छन् भने लुक्ला भएर जाने पर्यटकले त्यो स्वाद पाउँदैनन् । बाम्ती भण्डार पदयात्रा रोज्नुभयो भने विभिन्न जनजीवन, संस्कृति, भाषा, वन्यजन्तु, लाली गुराँस, पदयात्राका रोमाञ्चकारी दृश्य देख्न, अनुभव गर्न र भोग्न पाउनुहुनेछ । अनुपम हिमाली र पहाडी दृश्य पदयात्राको मज्जा हो ।
सिधै लुक्ला जाने पदयात्रीको समय बचत हुन्छ । लामो दूरीको यात्रा हवाईजहाजबाट हुने भएकाले अहिले धेरै पदयात्रीको छनोटमा परेको छ । सगरमाथा क्षेत्रमा पुग्न पाउनु र त्यो पनि छिटो हुने भएकाले धेरैजसो पर्यटकको रोजाइमा काठमाडौं लुक्ला हवाईयात्रा पर्न थालेको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा परिवारलाई आँखैअगाडि देख्न पाउने पदयात्रा महँगो हुने नै भयो । त्यसैले सगरमाथा पदयात्रा गर्न गोजी मोटो पार्नुपर्छ । भनाइ नै छ, यहाँ खल्ती पातलो भए चाँडै प्वाल पर्छ । सगमाथा आधार शिविरसम्म पदयात्रा गर्ने भए खल्तीमा पचास हजार हालेर हिँड्नुपर्छ ।
लुक्ला उडान भरेर जाने पर्यटकले नाम्चेबजार पुगेपछि कता–कता जानेर के–के हेर्ने भनेर धेरैथरि गन्तव्य रोज्न सक्छन् । हाइअल्टिच्युड पचाउन नाम्चेबजारमा दुई रात बस्ने सल्लाह दिन्छन् जानकारहरू । नाम्चेमा दुई रात बसेपछि सगरमाथा आरोहीको गाउँ थामे, नाङपालासम्म पदयात्रा गर्ने र रेन्जोला पास गरेर गोक्यो तालतर्फ लाग्न सकिन्छ । मनोरम हिमतालले गोक्योमा पर्यटकलाई लोभ्याउँछन् । गोक्योमा एक रात बसेर गोक्योरी पनि चढ्न सकिन्छ । पाँच घन्टा हिँडेपछि ५ हजार ३ सय ६० मिटर उचाइको गोक्यारीमा पुगिन्छ । सगरमाथामा सूर्यास्तको किरण हेर्न जाने पर्यटकको गोक्यारीमा घुईचो नै लाग्छ । जहाँबाट सगरमाथा, मकालु, ल्होेत्से, नुप्से, आमादाब्लम, थामसेर्कु हिमशृंखलाहरू नाकै अगाडि देखिन्छन् । ५ हजार ५ सय मिटर उचाइको रेन्जोला पास पनि अर्को त्यत्तिकै मनोरम गन्तव्य हो । गोक्योमा झमक्क साँझ परुन्जेल बसेर धित् मरुन्जेल फोटो खिचेर फर्कनुपर्छ ।
गोक्यो सगरमाथा पदयात्रामा पर्ने आकर्षक गन्तव्यको रूपमा चर्चित छ । यहाँबाट चोला पास गरेर आधारशिविरतर्फ मोडिन सकिन्छ । त्यसो त थाङ्नाकको उकालो कम साहसिक र रोमाञ्चकारी छैन । जोङलाको याक फार्ममा पुगेर चौंरीगाईको दूध–दही खाएर यात्रा अघि बढाउने अवसर पनि मिल्छ ।
थामे भएर तिब्बतको सिमाना नाङपालासम्म पदयात्रा गर्दा साहसिकता शब्दमा जति वर्णन गरे पनि अपुरो रहन्छ । नाङपाला सगरमाथा क्षेत्रको पूरानो व्यापारमार्ग हो । याक र खम्बाले नुनलगायत सामान बोकेर उक्त कठिन भन्ज्याङ पार गर्थे ।
थामेबाट दोलखाको टासीलाप्चा पास गरेर रोलवालिङतर्फ मोडिने पदयात्री पनि आउँछन् । तर, नाम्चेबाट सिधै सगरमाथा आधारशिविर ताक्ने पदयात्री बढी आउँछन् । नाम्चेबजारबाट सात दिनको यात्रामा सगरमाथा आधारशिविर पुग्न सकिन्छ । लुक्लाबाट पदयात्रा गरेर सगरमाथा फेदीमा पुगेपछिको मज्जा नै बेग्लै हुन्छ । बाटामा देखिने हिमाली वन्यजन्तु, हिमाली वनस्पति, जीवनशैली, ल्यान्डस्केप अनि नाकैमा देखिने हिमालको त कुरै नगरौं । हालसालै ग्वाटेमालाबाट आएका एक जोडी पदयात्रीले उन्मत्त भएर व्यक्त गरेका शब्द यहाँ उल्लेख गर्नु सान्दर्भिक होला– ‘स्वर्ग भनेको यही हो । मन बहलाउने र आन्नदित तुल्याउने थलो नै स्वर्ग हो । हामीले यहाँ यही पायौं । कल्पनाको स्वर्ग त अमूर्त हो ।’ दुवै एकछिन टक्क अडिए र बोल्न थाले, ‘हो, यही वास्तविक स्वर्गमा पदयात्रा गर्ने धोको बोकेर विश्वभरका मानिस सगरमाथा आउने रहेछन् र त्यही भोगेर फेरि आउने वचनसाथ फर्कने रहेछन् । हामीलाई पनि यही लागेको छ ।’
तपाईलाई यहाँ साइत पर्न सक्छ अर्थात हिउँचितुवा देख्न सक्नुहुन्छ, रातो पाण्डा हाब्रेले पनि तपाईंको स्वागत गर्न सक्छ । खाँचो केवल समयको छ । फोर्चेमा पदयात्रा गर्नुभयो भने डाँफे, हिमालयन स्नो कक, मृग, कस्तुरी नाचेको देखिन्छ । फोर्चे शेर्पा संस्कृतिको खानी हो ।
एकाइसपटक सर्वोच्च शिखर चुमेर ख्याति कमाएका आप्पा शेर्पाको गाउँ थामे पनि उत्तिकै मनमोहक छ । पर्यटकलाई स्वागत र सत्कारमा थामेली अब्बल छन् । थामेबाट लुङदिन हँुदै गोक्यो पुग्न पनि सकिन्छ ।
नाम्चेबाट अगाडि हिँडेपछि तेङबोचेमा बास बस्नुपर्छ । तेङबोचेबाट सूर्योदय हेर्न सकिन्छ । ४ हजार मिटरको तेङबोचे गुम्बा त्यत्तिकै आर्कषक ठाउँ हो । तेङबोचेबाट अर्को गन्तव्य पाङबोचे हो । पाङबोचेबाट अर्को बास बस्न दिङबोचे वा फेरिचे पुग्न सकिन्छ । सानो तर सुन्दर करिब ६ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने र छुकुङ भ्याली हेर्ने हो भने दिङबोचे बास बसेर भोलिपल्ट उता चढ्न सकिन्छ । आमालाप्चा पास गरेर मकालु उपत्यका जान पनि सकिन्छ । यो निकै कठिन पासमा गनिन्छ । सगरमाथा आधारशिविर मोडिने हो भने अर्को बास लोबुचेमा बस्नुपर्छ । ५ हजार मिटर उचाइको लोबुचेबाट अर्का गन्तव्य गोरसेप हो ।
सगरमाथा जाँदाको अन्तिम मानव बस्ती हो, गोरेसेप । पाँच हजार दुई सय मिटरमा रहेको गोरेसेपमा होटल–लजको सुविधा छ । सगरमाथामा पर्यटकले चाहिँ जस्तो सुविधा पाउँछन् । तारे होटलको याद मेटाउने ती होटलमा त्यस्तै सुविधा पनि उपलब्ध हुन्छ ।
गोरेसेपबाट ५ हजार ६ सय मिटर उचाइको कालापत्थरतिर लम्किने वा आधारशिविरतर्फ । आधारशिविरभन्दा कालापत्थर र सगरमाथाको सम्बन्ध आँगन र धुरीको जस्तो छ । आँगनबाट धुरीतर्फ हेरेझैं सगरमाथालाई हेर्ने सबैको धोको कालापत्थरले पूरा गरिदिन्छ । कालापत्थरबाट देखिने हिमाली दश्य, शब्दमा उल्लेख गर्नुभन्दा पनि भ्रमण गरेर अनुभव गर्दा वास्तविक रमाइलो हुन्छ । सगरमाथा बेसक्याम्पमा सबै पदयात्री र आरोहण दलले टेन्टमा बस्नुपर्छ । स्लिपिङ ब्याग र टेन्टको व्यवस्था गरेरमात्रै आधारशिविर जानु उत्तम हुन्छ । निश्चित गन्तव्यमा पुगेपछि पदयात्रा सकिएको अनुभव हुन्छ । अब झोला केही हल्का भएको महसुस गर्दै घरतर्फको ओरालो झर्न हतारो हुन्छ । प्रायः पर्यटकहरु सगरमाथाको आधारशिविरमा बिताएका अविस्मरणीय क्षणलाई मनमा राखेर खुशी हुँदै घर फर्कन्छन् ।
हिमाली क्षेत्र संरक्षणको आवश्यकता :
संसारभर जलवायु परिवर्तनको विषय चर्चामा रहेको छ । जलवायु परिवर्तनका आसरका कारण पृथ्वी जीवनरहीत हुन सक्ने भन्दै विज्ञहरूले असर न्यूनीकरण र अनुकूलनका अभ्यासहरू गरिरहेका छन् । अझ नेपाल जस्तो पर्वतीय मुलुकको भौगोलिक अवस्थाका कारण यस्ता स्थानहरू बढी जोखिममा रहेका छन् । विशेषगरी पर्वतीय क्षेत्रहरूमा जलवायु परिवर्तनका असर बढी पर्ने गरेको अन्तराष्ट्रिय स्तरका सभा सम्मेलनमा जोडतोडका साथ आवाज उठ्ने गरेको छ । करिव एक दशकको अवधिमा नेपालले पनि जलवायु परिवर्तनका विषयमा आफ्नो धारणा विश्व समुदायमा राख्दै आएको छ । नेपालले पर्वतीय क्षेत्रको विकासका लागि जोड दिँदै आएको छ । केही दिनअघि मात्रै पनि नेपालमा विश्व पर्वतीय दिवसको अवसर पारेर नेपालमा पर्वतीय सम्मेलन गरी पर्वतीय क्षेत्रको संरक्षणका विषयमा चिन्ता व्यक्त गरिएको छ । सन् २००३ मा ११ डिसेम्बरलाई संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय पर्वतीय दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । त्यसपश्चात् मनाउन लागिएको यस दिवसको मूलभूत उद्देश्य मानव जीवनमा पर्वतीय क्षेत्रको महत्व र यसमा परेको असरबारे जनचेतना जगाउनु, यस क्षेत्रको विकासका सम्भावना र चुनौती केलाउनु तथा यस क्षेत्रको जनजीवन र वातावरणमा सकारात्मक परिवर्तन ल्याउनु रहेका छन् । विश्वमा पर्वतीय क्षेत्रले २२ प्रतिशत क्षेत्रफल ओगटेको छ ।
विश्वको करिब १३ प्रतिशत जनसंख्याले बसोबास गर्ने पर्वतीय क्षेत्रको संरक्षण आवश्यक भएको र यस क्षेत्रमा जलवायु परिवर्तनका लागि बढी असर परेको छ । पर्वतीय क्षेत्र आफैंमा जैविक विविधता र कला संस्कृतिले भरिपूर्ण छ । यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रूपमा तल्लो तटीय क्षेत्रलाई समेत फाइदा पु¥याइराखेको छ । यो क्षेत्र स्वच्छ पानीको प्रमुख स्रोत मात्र नभई विभिन्न जडीबुटीको भण्डार पनि हो । नेपालको कर्णाली क्षेत्रलाई विशेष जडीबुटीको क्षेत्रमा हेर्ने गरिएको छ । यसले पनि पर्वतीय क्षेत्र जडीबुटीको ठूलो भण्डार भएको पुष्टि गर्दछ । यस्ता स्थानहरूको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गर्न तथा यसको विकासका लागि विभिन्न संरचनाहरूको निर्माण गर्नका लागि दवाव आवश्यक छ ।
विश्व परिवेशलाई हेर्दा जलवायु परिवर्तनले गर्दा पर्वतीय क्षेत्रको भविष्य जोखिमपूर्ण अवस्थामा रहेको छ । बढ्दो जलवायु परिवर्तनले गर्दा विश्वको तापक्रम प्रति वर्ष शून्य दशमलव ००२४ डिग्री सेल्सियसका दरले बढिरहेको छ । बढ्दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दर तीव्र गतिमा छ भने हिमतालहरू फुट्ने जोखिमपूर्ण सम्भावना पनि धेरै छ । यसैगरी हिमाली भेगमा हिउँ पर्ने क्रममा पनि कमी आइरहेको छ । हिमालहरू काला पत्थरमा परिणत भइरहेका छन् । नेपालको तापक्रम प्रति वर्ष शून्य दशमलव ०६ डिग्री सेल्सियसका दरले बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालमा जलवायु परिवर्तनका लागि २१ हिमताल अझै विस्फोटको जोखिममा रहेका छन् । विसं. २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो । उता पूर्वी नेपालमा रहेको खुम्बु हिमनदी सन् १९५३ देखि ५ किलोमिटर घटेको सुनिन्छ । यस वर्ष सरकारले इम्जा हिमतालको पानीको सतह साढे तीन मिटर घटाएर जोखिम न्यूनीकरणको काम गरेको छ । यस्ता अनेकौं प्रकोप भावी दिनमा अझ बढी नआउलान् भन्न सकिँदैन । जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । हिमाली क्षेत्रमा पाइने वनस्पति तथा जीवजन्तुहरू जलवायु परिवर्तनबाट समस्याग्रस्त अवस्थामा छन् ।
पर्वतीय क्षेत्र सम्पूर्ण पृथ्वीको छानो हो । यसलाई ‘वाटर टावर’ को रूपमा पनि चिनिन्छ । वाटर टावरमा हिउँ नै नरहेको अवस्थामा विश्वमा पानीको हाहाकार हुन पुग्ने सम्भावना बढिरहेको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको मनास्लु क्षेत्रमा गरेको प्रारम्भिक अध्ययनले तालिस पत्र र भोजपत्रको प्राकृतिक बसाइप्रति वर्ष १ दशमलव ५ मिटरदेखि ३ दशमलव ४ मिटरका दरले माथि सरिरहेको तथ्य पाइएको छ । जलवायु परिवर्तनले वृक्षको वृद्धिमा समेत नकारात्मक परिवर्तन पारिरहेको पाइएको छ । अर्कोतर्फ हिमाली भेगको कृषि तथा पशुपालनमा जलवायु परिवर्तनको असर परेको छ । मुस्ताङ जिल्लामा स्याउको उत्पादनमा कमी आइरहेको छ । कृषि उत्पादनमा पनि हालैका वर्षमा हिमाली क्षेत्रमा व्यापक रूपमा असर परेको छ ।
यसबाहेक मुस्ताङमा हिउँ थोरै पानी धेरै पर्न थालेका कारण हिजोआज माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् । यही कारण स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् । हिमाली भेगका पाइने जडीबुटी यार्सागुम्बाको संकलनमा पनि कमी हुन थालेको छ । पर्वतीय क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रमा पनि जलवायु परिवर्तनले नकारात्मक असर पारिरहेको छ । हिउँले वर्षभरि ढाक्ने हिमालहरूबाट हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै छन् । पर्वतीय क्षेत्र सम्पूर्ण पृथ्वीको छानो हो । यसलाई ‘वाटर टावर’ को रूपमा पनि चिनिन्छ । वाटर टावरमा हिउँ नै नरहेको अवस्थामा विश्वमा पानीको हाहाकार हुन पुग्ने सम्भावना बढिरहेको छ । पर्वतीय क्षेत्र कला संस्कृति, जैविक विविधता र सौन्दर्यको खानी हो । पर्वतीय क्षेत्रले तल्लो तटीय क्षेत्रलाई दिने वातावरणीय सेवा अत्यन्त महत्वपूर्ण छ । यो क्षेत्रमा आउने सानो परिवर्तनले तल्लो तटीय क्षेत्रलाई नराम्रो असर पार्न सक्छ ।
हुन त नेपालको पर्वतीय क्षेत्रको विकास तथा अध्ययनका लागि केही सीमित संघसंस्थाले काम गरिरहेका छन् । तर, यो पर्याप्त भने छैन । यसका लागि पर्वतीय क्षेत्रको विकास तथा अध्ययन, अनुसन्धनका लागि पर्वतीय विश्वविद्यालयको स्थापनाको समेत माग हुन थालेको छ । नेपालमा पर्वतीय क्षेत्रको अध्ययन, अनुसन्धानमा सरकारका तर्फबाट कुनै संरचना निर्माण भएको छैन । गैरसरकारी संस्थाहरूले गरेको सिमिति अध्ययनका भरमा सरकारले धारणा बनाइरहेको छ । सरकार आफैंले यस क्षेत्रको अध्ययन, अनुसन्धानका लागि पर्वतीय विश्वविद्यालय स्थापना गरी अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्नु आवश्यक छ । यस वर्ष ‘पर्वतीय संस्कृति विविधता मनाउने र पहिचान बलियो बनाउने’ नाराका साथ यो वर्ष विभिन्न कार्यक्रमहरू गरी अन्तराष्ट्रिय पर्वतीय दिवस मनाइयो । वर्षमा एक दिन मात्रै गरिने यस्ता चिन्ताले कुनै उपलब्धि भने हुन सक्दैन । यसका लागि सरकारले विगतमा सञ्चालन गरेको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम जस्तै पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रमको पनि विकास गर्नुपर्दछ । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक प्रभाव कम गर्ने र परिवर्तित अवस्थामा अनुकूलित हुने गरी कार्यक्रमहरू बनाउनु आवश्यक छ ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  २ : २४ बजे