३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

देशभरका गिद्ध संरक्षणकर्मी बर्दियामा भेला



गुलरिया (बर्दिया), १६ असोज । गिद्ध संरक्षणमा सक्रिय देशभरका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरु गिद्ध संरक्षणमा भएका कार्यहरुको समीक्षा तथा आगामी कार्य योजनाको तय तथा स्थानीय संरक्षण समुदायको सशक्तिकरणका लागि बर्दियामा भेला भएका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घको आयोजनामा बर्दियाको ठाकुरद्वारामा आयोजित दुईदिने स्थानीय संरक्षण समूह तथा संस्थाका लागि गिद्ध सुरक्षित क्षेत्र व्यवस्थापन तालिमको उद्घाटन गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले दुर्लभ गिद्ध संरक्षणमा स्थानीय समुदायले पु¥याएको योगदानको प्रशंसा गर्दै सरकारले लागू गरेको गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनका लागि आह्वाह गर्नुभयो ।

गिद्ध विनाशको कारक डाइक्लोफेनेक भएकाले गिद्ध संरक्षणका लागि सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको छ र त्यसको विकल्पमा गिद्ध, अरु चराचुरुङ्गी र वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण सुरु गरेको छ ।

प्रतिबन्धित औषधि ‘डाइक्लोफेनेक’को पशु उपचारमा प्रयोग गरेको खण्डमा तीन वर्ष कैद वा रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

दक्षिण एसियामा पाइने नौ मध्ये नौ प्रजातिका गिद्ध नै नेपालमा पाइन्छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७३, आइतबार  ५ : ११ बजे