१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

दूधकोशी नदीको किनारमा आमाको शव छोराछोरी बेपत्ता


१४ फाल्गुन २०७५, मंगलबार  

273
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासङल्हमु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ ।

उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले ६ गते बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागेपनि घरमा नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे आमा मिङ्मा याङ्जी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो भने छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“उनीहरुको खोजी जारी राखेका छाँै ।”, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भने, “आजसम्म उनीहरुको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग गरिदिनुप¥यो ।” प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको पठाइएको छ ।

मृतककी छोराछोरीको चप्पल र कपडासमेत दूधकोशी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। प्रहरीले आसपासका क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिनाका साथै दूधकोशी नदी जोडिने छिमेकी जिल्ला ओखलढुङ्गा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।

आमाको शव नदी किनारमा भेटिएको र बच्चाको कपडासमेत फेला परेकाले आमा मिङमा याङजी शेर्पाले बच्चासँगै आफू पनि खोलामा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।बेपत्ता ङिमा डोमा र कुङ्गा दोर्जी खुम्बु पासाङल्हामु गाउँपालिका–७, मा रहेको हिमालयन आधारभूत विद्यालयको होस्टलमा बस्दै आएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : १९ बजे