२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

धनुषाबाट तस्करले लुटेको प्रहरीको हतियार भेटियो



धनुषा । तस्करहरुको समूहले धनुषाबाट लुटेको प्रहरीको हतियार फेला परेको छ । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका १ स्थित नेपाल–भारत सिमा नजिकै ७ः३० बजेतिर हतियार फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले दशगजा नजिकै नेपालपट्टीको एउटा खरबारीमा लुटिएको हतियार फेला परेको जानकारी दिए । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झड्प हुँदा तस्करहरुले बुधबार बिहान २ बजेतिर हतियार लुटेका थिए । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोद कुमार शाहको साथमा रहेको एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन तस्करहरुले लुटेर लगेका थिए ।
लुटिएको हतियार र लुटने व्यक्तिको खोजी गर्न व्यापक प्रहरी परिचालन गरिएको थियो । हतियार फेला परेपनि लुटने व्यक्ति फेला पर्न सकेका छैनन् । डिएसपी कार्कीले हतियार लुट्ने समूहको खोजी भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ०४ बजे