काठमाडौं । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखिए आन्दालन गर्ने चेतावनी दिएका छन् । प्रदेशको नाम एकल ‘कोशी’ स्वीकार्य नहुने भन्दै अध्यक्ष राईले जनमतको कदर गर्दै पहिचानको आधारमा किरात विनाको प्रदेशको नाम राखिए आन्दोलमा उत्रिने चेतावानी दिएका हुन् ।

प्रदेश नम्बर १ को नाम नेकपा नेतृत्वले ह्वीप जारी गरी ‘कोशी’ राख्न दबाब दिएसँगै नेकपाकै सांसदहरुले बिरोध गरेका थिए । निरन्तर किरात प्रदेशको अभियानमा रहेको यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘कोशी–किरात’ वा ‘सगरमाथा–किरात’ स्वीकार्न सकिने तर ‘कोशी’मात्रै आए विद्रोह सुरु हुने बताएका हुन् । ‘कोशी प्रदेशमात्रै कुनैपनि हालतमा स्वीकार्य हुँदैन’, यायोक्खा केन्द्रीय अध्यक्ष राईले भने, ‘हामी तुरुन्तै विद्रोहको वातावरण बनाउँछौं ।’
नेकपाभित्रै पनि अझै ४५ बढी सांसद् ‘कोशी–किरात’को पक्षमा रहेका छन् । ‘उनीहरुको आवाजलाई नियन्त्रण गरिए तुरुन्तै विद्रोह हुन्छ’, राईले भने । प्रदेश नम्बर १ को नाम र राजधानीको विषयमा गत बुधबारदेखि नेकपाको प्रदेश संसदीय दलमा छलफल चलिरहेको छ । तर, संसदीय दलले यस विषयमा टुंगो लगाउन नसकेपछि नेकपा नेतृत्वबाट ह्वीप जारी गरिएको थियो ।
प्रदेश नम्बर १ मा नेकपाको दुई तिहाइ बहुमत भएकाले पनि उसले के निर्णय लिन्छ भन्ने सबैको चासोको विषय बनेको छ । यसैले कांग्रेसको प्रदेश संसदीय दलले समेत कुनै निर्णय नलिई ‘पर्ख र हेर’को स्थितिमा छ । तर, यायोक्खाले चुनावका बेला गरेको प्रतिबद्धता नभुल्नसमेत जनप्रतिनिधिलाई आग्रह गरेको छ ।
२१ बैशाख २०७६, शनिबार
721
Shares






