काठमाडौ । राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग गर्दै काठमाडौंस्थित भद्रकालीमा ९ ड्रम आलो रगत ल्याएर बगाएको छ । भद्रकाली सडकमा एक्कासी आलो रगत देखेपछि स्थानीय त्रसित बनेका थिए ।

मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको भिडमा रहेका केही व्यक्तिले ड्रममा आलो रगत ल्याएर सडकमा पोखाएका थिए । प्रदर्शनकारीले सडकमा रगत पोखाएपछि राणा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रर्दशनका क्रममा प्रदर्शनकारीले ड्रममा बोका र राँगाको आलो रगत ल्याएर पोखेको खुल्न आएको छ । बोका र राँगाको ९ ड्रम रगत ल्याएर प्रदर्शनकारीले धमाधम पोख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।






