एकै वर्षमा प्रदेश १ सरकारले किन्यो २६ करोडको गाडी !

Facebook Debugger

विराटनगर । प्रदेश १ सरकारले मुख्यमन्त्री, मन्त्री र मन्त्रालय प्रयोजनका लागि भन्दै चालु आर्थिक वर्षको ११ महिनामा २६ करोड २० लाख २३ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ ।
प्रदेश १ सरकारमा सात मन्त्रालय र कुल ५ मन्त्री छन् । प्रदेशका मन्त्रालय, मन्त्रीबाहेक विशिष्ट पाहुनादेखि व्यवस्थापिका र मुख्य न्यायाधीवक्ताको कार्यालयसम्मका लागि पनि गाडी किनेको सरकारको भनाइ छ । प्रदेश १ सरकारले मुख्यमन्त्रीका स्वकीय सचिव र प्रेस सल्लाकारलाई समेत गाडी सुविधा दिएको छ ।


आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव एवं प्रवक्ता हरिहर पौडेलले नयाँ संरचनामा आवश्यक सवारी साधन नभएकोले प्रदेश सरकारले जीप, कार, मोटरसाइकल र स्कुटरदेखि साइकलसम्मका सवारी साधन किनेको बताए । ‘मुख्यमन्त्रीज्यूको सवारीका लागि छुटाइएको दुई करोड र एम्बुलेन्स खरिदका लागि छुट्याइएको ७ करोड रुपैयाँ भने खर्च भएको छैन,’ पौडेलले भने ।
मुख्यमन्त्री शेरधन राईले सुनसरी–मोरङ सिञ्चाई अयोजनाको गाडी प्रयोग गर्ने गरेका छन् । प्रदेश १ सरकारले स्थानीय तहहरुका लागि ७० वटा एम्बुलेन्स किन्न भनेर ७ करोड बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्ष (२०७५÷०७६) का लागि सवारी साधन खरिद शीर्षकमा ३० करोड ३५ लाख २३ हजार रुपैया विनियोजन गरेको थियो । सवारी साधनमा आन्तरिक मामिला मन्त्रालयले सबभन्दा बढी १८ करोड ९४ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ खर्च गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयपछि प्रदेश व्यवस्थापिकाले सबभन्दा धेरै ८ करोड ५० लाख २५ हजार रुपैयामा १३ वटा गाडी किनेको छ । प्रदेश व्यवस्थापिकाका लागि सवारी साधन खरिद शीर्षकमा २ करोड ७५ लाख २५ हजार रुपैया विनियोजन गरिएकोमा थप ५ करोड ७५ लाख रकमान्तर गरिएको हो । सभामुख, संसदीय समितिका सभापति, प्रमुख सचेतक, सचिव सबैका लागि गाडी किनिएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ करोड २० लाख, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ३ करोड ५१ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ करोड ४५ लाख रुपैयाँको सवारी साधान खरिद गरे । त्यस्तै, सामाजिक विकास मन्त्रालयले एक करोड ९८ लाख ५० हजार रुपैयाँको सवारी साधान किनेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सवारी साधन खरिदमा प्रदेश सरकार निकै हौसिएको बताए । उनले भने, ‘सुख सुविधा, कमिसन र राजनीतिक अभिष्टसमेतको लोभले यति धेरै रकमको गाडी किनमेलमा मरिहत्ते गरेको देखिन्छ ।’ अनलाईनखबरबाट

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार