भारतीय कृषि उपजले नेपाली कृषक ऋणको भारी गुनासो कसले सुन्ने

बाँके । बाँकेका किसानले कृषि उत्पादन बिक्रीमा उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि क्षेत्रका केही विचौलियाहरुले बाँकेमा कृषि उत्पादनबाट राम्रो आम्दानी गर्न सके पनि किसानले भने त्यसको उचित मूल्य पाउन नसकेको बताएका हुन् ।

किसानले उब्जनी गरेको तरकारीलगायतको बजारीकरणमा समस्या रहेको भन्दै उनीहरुले स्थानीयस्तरमा कृषि बजारको आवश्यकता भएको बताएका छन् ।
नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले खुला सीमानाका कारण नेपाली कृषि उपजले बजारमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको बताए ।

“भारतबाट बिना भन्सार भित्रिने कृषि उपजसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ”, उहाँले भने “उत्पादनमै लागत बढी परेका कृषि उत्पादनले बजारमा उपयुक्त मूल्य पाउन सकिरहेका छैनन् ।

न्यूनतम मूल्यमा काम गर्नुपर्ने बाध्यता रहेको श्री हरियाली कृषक समूह बैजनाथका दीपककुमार थारुले बताए । अधिकांश भारतीय उत्पादन स्थानीय उत्पादनभन्दा सस्तोमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

खजुरा गाउँपालिकास्थित एकता महिला किसान समूहकी तारा ज्ञवालीले पनि खुला सीमाका कारण नेपाली उत्पादनले पर्याप्त मूल्य पाउन नसकेको बताए । “भारतीय कृषि उपजको मूल्यमै हामीले आफ्ना उत्पादन बिक्री गर्न बाध्य हुनु परेको छ”, उहाँले भन्नुभयो, ‘‘हाम्रा उत्पादनले उचित मूल्य पाउन सकेको छैन ।”

विभिन्न किसिमका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्दै आएका नेपाल कृषि विकास फार्मका सञ्चालक अधिकारीले राज्यले नीतिगत रुपमै स्थानीय उत्पादन प्रवद्र्धनको व्यवस्था गर्नुपर्ने बताएका छन् । स्थानीय तहले बाड्ने तरकारी तथा फलफूलका बिरुवासमेत बाहिरबाट आयात गरिएकाले यहाँको कृषि उद्यम फष्टाउन सकेको छैन ।

“आफ्नै ठाउँमा उत्पादित बिरुवा बाड्ने हो भने त्यसले यहीको कृषि क्षेत्र फष्टाउने मात्रै होइन उद्यमीलाई जिम्मेवारसमेत बताउँछ”, ज्ञवालीले बताए । भारतीय किसानका तरकारी, फलफूल जन्य उत्पादन उनीहरुको खेतबाट नेपाली बजारसम्म पुग्दा त्यसको गुणस्तरमा ह्रास आइसक्ने गरेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बढी मुनाफा लिने नाममा स्वास्थ्यमा ध्यान नदिएको बताए । “हामी दुई रुपैयाँ सस्तोको लोभमा आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका हुँदैनौँ ।” उपभोक्ता आफँै पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि कार्यक्रम ९रिज्म० नेपालगञ्जका प्रमुख गोकर्ण अर्यालले स्थानीय उत्पादनको प्रवद्र्धन नागरिकस्तरबाट नै सुरु हुनुपर्ने धारणा राख्नुहुन्छ । “कागजी योजना, नीति र बोलेर मात्रै हुँदैन स्थानीय कृषि उपजलाई प्रवद्र्धन आफैँबाट सुरु गरिनुपर्छ”, अर्यालले भने, “सस्तो मात्रै हेर्नुभन्दा स्वास्थ्यको ख्याल पनि गरिनुपर्छ ।” आफूले खानाका लागि प्रयोग गर्ने कृषि उपज कहाँबाट ल्याइएको हो र त्यो कुन गुणस्तरको छ भन्नेमा उपभोक्ता सचेत हुर्ने अर्याल बताउँछन् ।

किसानले भने भारतबाट आउने कृषि उपजमा कर लगाउने र त्यसको नियमनमा कडाइ गरेमात्र नेपाली उत्पादन फष्टाउन सक्ने बताउँछन् । श्री हरियाली कृषक समूह बैजनाथका किसान दीपककुमार थारु भन्नुहुन्छ, “खाद्य पदार्थ उपभोक्ताको स्वास्थ्यसँग जोडिने हुनाले त्यसको गुणस्तर भन्सारमा नै परीक्षण गर्ने व्यवस्था मिलाइनुपर्छ ।”

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले नेपाली उत्पादकको पहुँच सिँधै उपभोक्तासम्म नहुँदा उचित मूल्य किसानले पाउन नसकेको बताए । उहाँले किसानलाई बिचौलियाबाट जोगाएर सिँधै उपभोक्ताको पहुँचमा पु¥याउन हाट बजारको व्यवस्था गरिनुपर्ने धारणा छ ।

“किसानले सिँधै आफ्ना उत्पादन उपभोक्तालाई बेच्न पाउने हो भने कृषि उत्पादनको राम्रो मूल्य प्राप्त गर्न सक्छन्”, अध्यक्ष वैश्यले भने, “कृषि हाट बजारका लागि हामी प्रयासरत् छौँ । स्थानीय तहलाई पनि त्यसबारे ध्यानाकर्षण गराउँदै आएका छौँ ।”

वस्तुको उत्पादनसँगै त्यसको उपयुक्त बजारीकरण नहुँदा पनि कृषि उपजले उपयुक्त मूल्य प्राप्त गर्न नसकेको उहाँको भनाइ छ । “किसानले आफूले उत्पादन गरेका वस्तुहरु ताजा र स्वस्थ छन् भन्ने सन्देश प्रवाह गर्न नसक्दा पनि बजारीकरणको समस्या भएको हो”, उहाँले भने।

नेपालगञ्ज नाकाबाट चामल आयात बढ्दो

नेपालगञ्ज भन्सारबाट बढी भित्रिने वस्तुहरुमध्ये चामल रहेको देखिएको छ । चालू आव २०७५÷७६ को जेठ मसान्तसम्म रु ११ करोड ५७ लाख ५७ हजार ५०३ केजी चामल नेपालगञ्ज भन्सार कार्यालयबाट भित्रिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा रु आठ करोड २७ लाख ८४ हजार २४५ केजी चामल नेपालगञ्ज नाका भएर भित्रिएको नेपालगञ्ज भन्सारको अभिलेखमा छ । भन्सारमा राजश्व नतिरी घरका लागि भन्दै चामल ल्याउनेको सङ्ख्या पनि ठूलो रहेको छ । जसको तथ्याङ्क नै छैन ।

नेपालगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा बढी राजश्व पेट्रोलियम पदार्थको आयातमा हुने गरेको छ । गत आवको जेठ महीनासम्म डिजेल एक लाख ५० हजार ७७४ केएल भित्रिएको छ । त्यस्तै पेट्रोल ३५ हजार ३१२ र एलपी ग्यास तीन करोड १३ लाख १२ हजार ६५ केजीम भित्रिएको छ ।

भन्सारले डिजेलबाट रु दुई अर्ब ९३ करोड ६८ लाख ५३ हजार असुल गरेको छ । त्यस्तै पेट्रोलबाट एक अर्ब २६ करोड २४ लाख ४१ हजार, एलपी ग्यासबाट रु ४८ करोड ३७ लाख ९८ हजार असुल गरेको नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख शरदकुमार केसीले बताए ।

यो तथ्याङ्कले चामलमा पैठारी धेरै देखिएको छ । “राजश्व बढ्दो छ । तर निर्यातका हिसाबले ठीक होइन”, केसीले भन्नुभयोे, “नेपाली उत्पादन निकै थोरै मात्रामा भारतमा निर्यात हुने गर्छ ।”

नेपालगञ्ज भन्सारको बाटो भएर तेस्रो मुलुकबाट अल्मोनियम स्क्रेप, कपर स्क्रेप, प्लाष्टिक, दानालगायतका वस्तुहरु पैठारी हुन्छन् । भारत निकासी हुने वस्तुहरुमा खयर कत्था, जडिबुटी, अदुवा, सुठो आदि पर्दछन् भने तेस्रो मुलुक निकासी हुने वस्तुहरु गहुँको पीठो, भैंसीको मासु, जटामसी आदि रहेका छन् । नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख केसीले पेट्रोलियम पदार्थ, सवारी साधन, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थर कोइला, कपडा, मोटरका पार्टपूर्जा आदि बढी आयात हुने गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार