पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै

0 Shares

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

उहाँका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेर्नुभएका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको उहाँले बताए । आज अन्त्येष्टिसँगै कानूनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजुसमेत पर्ने पुडासैनीले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरीप्रमुख मल्लले जानकारी दिए । पुडासैनीको शव राति काठमाडौँ लगिएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार