जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?

  डा. शेरबहादुर पुन
1.3k Shares

काठमडौं । जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ ।

यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ । कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क÷वितर्क भएका थिए ।

जोन्सन एण्ड जोन्सनको उत्पादन ’जानसेन कोभिड-१९ भ्याक्सिन’ अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।हाल युरोपियन युनियनलगायत कोभ्याक्स सुविधाअन्तर्गत विश्वका विभिन्न देशमा यो भ्याक्सिन वितरण गरिँदैछ ।

हालै अमेरिकी सरकारले अफ्रिकी युनियनलाई झन्डै २५ मिलियन डोज कोरोनाविरूद्धको खोप (जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन) सहायता स्वरूप दिने प्रतिबद्धता जनाइसकेको छ भने, जुन केही हप्ताभित्र ४९ अफ्रिकी मुलुकहरूले पाउने छन् । थप ४०० मिलियन ’जानसेन कोभिड-१९ भ्याक्सिन’ को डोज खरिद सम्झौता समेत भैसकेको १२ जुलाईको प्रेस विज्ञप्तिमा गाभीले जनाएको छ ।

नेपालले पनि अमेरिकाबाट केही दिन अगाडिमात्र जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ को साढे एक मिलियन डोज प्राप्त गरिसकेको छ ।

भ्याक्सिनले कसरी काम गर्छ ?

जानसेन कोभिड-१९ भ्याक्सिनलाई ’भाइरल भेक्टर भ्याक्सिन’ पनि भनिन्छ अर्थात् एडेनो भाइरसमा कोरोना भाइरसको स्पाइक जीनलाई प्रयोग गरी मानव शरीरमा प्रवेश गराइइन्छ । एडेनो भाइरस सामान्य रुघाखोकी गराउने भाइरस भएता पनि शरीरमा प्रवेश गरेपछि यसलाई प्रतिकृत नहुने गरी तयार गरिएको हुन्छ । कोषिकामा हुने विभिन्न प्रक्रिया पार गरेपछि शरीरले भाइरसको स्पाइक प्रोटिनविरूद्ध एन्टिबडी तयार पार्दछ ।

प्राकृतिक रूपमा कोरोनाभाइरसले संक्रमण गरे एन्टिबडीले भाइरसलाई तत्काल निष्क्रिय बनाउँदछन् र संक्रमण जटिलतातिर जान पाउँदैन । शरीरमा प्रवेश गर्न भाइरसले स्पाइक प्रोटिनको प्रयोग गर्ने गर्दछ। हाल प्रयोगमा आइरहेको कोभिड-१९ विरूद्धका खोप ’कोभिसिल्ड’ (एक्स्ट्राजेनेका÷अक्सफोर्ड) तथा ’स्पुतनिक भी’ पनि यही प्रविधिमा आधारित छन् ।

अरू भ्याक्सिनभन्दा के फरक छ ?

भ्याक्सिन भण्डारणमा फाइजर तथा मोडर्नालाई जस्तो अल्ट्राचिस्यनको (माइनस ७० डिग्री सेन्ट्रिग्रेड) आवश्यकता पर्दैन। माइनस बीस डिग्री सेन्ट्रिग्रेडमा (-२० डिग्री सेन्ट्रिग्रेड) दुई वर्ष र सामान्य रेफ्रीजेरेसनमा (२ देखि ८ डिग्री सेन्ट्रिग्रेडमा) तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।

अर्को मुख्य फरक वा आकर्षण भनेको एक डोजको मात्रा लिए पुग्नु हो । हाल अधिकांश देशहरूले खोप बिना प्रवेश नदिने वा सो देशमा प्रवेश दिए पनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता छ । छोटो समयमा विदेश जानु पर्नेहरूको प्राथमिकतामा यो खोप परेको देखिन्छ ।

खोपपछि कस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ?

खोप लगाइसकेपछि कसैलाई स्वास्थ्य समस्या देखिन सक्छ, कसैलाई देखिँदैन । ‘जानसेन कोभिड–१९ भ्याक्सिन’ मा पनि देखिन सक्ने स्वास्थ्य समस्याको बारेमा समय–समयमा अद्यावधिक गराउँदै आइरहेको देखिन्छ । केही समय अगाडि रगत जम्ने (थ्रोमबोसिस) सँगै रगतमा प्लेटेलेट्स संख्यामा कमी देखिएपछि खोपलाई स्थगित गर्दै एफडिए र सिडिसीको संयुक्त टोलीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।

यो समस्यालाई ’थ्रोमबोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम’ भन्ने पनि गरिन्छ । कडा समीक्षापछि खोप सुरक्षित रहेको निर्क्यौलसँगै खोपलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

यस्तो समस्या १८ वर्षदेखि ५९ वर्षका विशेष गरेर महिलालाई बढी हुनसक्ने जनाइएको छ । केहि दिन अगाडिमात्र एफडिएले खोप लगाएको ४२ दिनभित्र नसासँग सम्बन्धित दुर्लभ मानिने ’गियान बार सिन्ड्रोम’ को जोखिम बढ्न सक्ने जानकारी गराएको थियो । सिडिसीका अनुसार यो समस्या विशेषत पुरूष र ५० वर्षभन्दा माथिकामा देखिएको भनिएको छ । तर एफडिए र सिडिसीले तत्काल खोपलाई स्थगित गर्नुपर्ने आवश्यकता नभएको जनाएका छन् ।

यी दुवै दुर्लभ समस्या कोभिसिल्ड भ्याक्सिन (एक्स्ट्राजेनेका/अक्सफोर्ड) मा पनि देखिएका थिए । खोप लगाएपछि हातखुट्टा झम-झममाउने वा कमजोर हुने, अनुहारका मांसपेशिकाहरू चलाउन असहज भए, हिँडडुल गर्न कठिनाइ भए, आँखा चलाउन अप्ठ्यारो वा डबल आकृति देखिने, दिसा पिसाब नियन्त्रण गर्न गाह्रो भए तुरून्त चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ ।

अन्तमा, हाल नेपालमा कोभिसिल्ड तथा सिनोफर्माको ’भेरोसेल’ भ्याक्सिनहरू प्रयोगमा आइसकेका÷आइरहेका भएता पनि नेपाली समुदायमा के/कस्तो, कुन उमेर समूहका तथा कस्तो अवस्थामा स्वास्थ्य समस्या देखिएका थिए/छन् भन्ने जानकारी सार्वजनिक भएका छैनन् । यस्तो जानकारीले आगामी दिनमा भ्याक्सिन छनोटमा सहजता हुनेछ । किनभने कोरोनाभाइरसको उतारचडाव अझै लम्बिने सक्ने संकेतसँगै थप सुरक्षित खोपको आवश्यकता पनि पर्नेछ । (लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा संयोजकका रूपमा कार्यरत छन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार