१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

येशे ग्यछो रिम्पोछेद्वारा तामाङ सेवा केन्द्रको गुम्बा र त्रिमुर्तिको प्राण प्रतिष्ठा, पूजा तीन दिनसम्म चल्ने



काठमाडौ । काठमाडौ महानगरपालिकाको वडा नंं. ६ सुबी गाउँमा निर्माण गरिएको तामाङ सेवा केन्द्र नेपालको गुम्बा, त्रिमुर्ति एवं विभिन्न देवीदेवताको मूर्ति र चित्रको प्राण प्रतिष्ठा (राप्ने) पूजा गरिएको छ । धर्मगुरु ङवाङ लोजाङ येशे ग्यछो रिम्पोछेले आज गुम्बा तथा त्रिमूर्तिको प्राण प्रतिष्ठा पूजा गर्नुभएको हो ।

हेर्नुहोस् यो भिडियो :

तीन दिन सम्म चल्ने प्राण प्रतिष्ठा पूजाको दोस्रो दिन भोलि (सोमबार) बिहान ८ बजेदेखि पूजा सुरु हुनेछ भने बिहान १० बजे रिन्पोछे आउनु भई कोनछोक चितु र सेटु (ङिङदुक ङिङ्पो) को वाङ प्रदान गर्नु हुनेछ । अन्तिम दिन मंगलबार धर्मगुरु ङवाङलोजाङ येशे ग्यछो रिम्पोछेले छेवाङ प्रदान गर्नुहुने र बीच बीचमा कोनछोक चितु र सेटुको लुङ (प्रवचन) समेत हुने तामाङ सेवा केन्द्र नेपालका महासचिव तेके बहादुर तामाङले जानकारी दिनुभयो ।

करिब २० बर्ष अघि तामाङ समुदायको धर्म संस्कृति जगेर्ना गर्ने उद्देश्यले तामाङ सेवा केन्द्र नेपालको स्थापना गरिएको र आजको अवस्थामा आईपुगेको संस्थापक महासचिव एवं तामाङ सेवा केन्द्र नेपालका संरक्षक समितिका संयोजक पाल्देन तामाङले बताउनुभयो । सेवा केन्द्र स्थापना भएर मात्र उद्देश्य परिपूर्ति नहुने भएकाले जग्गा खरिद गरी गुम्बा बनाउन सफल भएको र त्यसमा त्रिमुर्ति (कुसुम) विराजमान गराउन सफल भएको उहाँले बताउनुभयो ।

तामाङ सेवा केन्द्र नेपालले करिब ५ बर्षको दौरानमा गुम्बा निर्माण गरी गुम्बा भित्रको त्रिमुर्ति र विभिन्न देवीदेवताको मूर्ति समेत बनाउन सफल भए पनि कोभिडका कारण प्राणप्रतिष्ठा गर्न दुई बर्ष ढिलाई भएको महासचिव तेके बहादुर तामाङले बताउनुभयो ।

तामाङ सेवा केन्द्र नेपालका सदस्यहरुकै सहयोगमा गुम्बा निर्माण गर्न सफल भएकोमा सेवा केन्द्र नेपालका अध्यक्ष अम्बर तामाङले खुसी व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी आर्थिक मन्दीका बेला समेत आफ्नो आर्थिक हैसियत अनुसार विदेशमा श्रम गरेर पनि गुम्बा निर्माणका लागि रकम पठाउने आप्रवासी दाजुभाइ तथा दिदीबहिनी, विनाशकारी भूकम्पको बेला पनि गाँस काटेर गुम्बाका लागि सहयोग गर्ने मनहरु र कोरोना महामारीको समयमा समेत गुम्बाको त्रिमूर्ति निर्माणका लागि अघि सर्ने सबै सहयोगीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।

२०५७ सालमा स्थापना भएको तामाङ सेवा केन्द्र नेपालमा हाल सोलुखुम्बुु, खोटाङ र ओखलढुंगा लगायत जिल्लाका गरी करिब ४ सय घरपरिवार सदस्य छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ३५ बजे