२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

देउवाको ८२ मतले पुगेन बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा



काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २ हजार ३ सय ४० मत चाहिन्थ्यो ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २ हजार २ सय ५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ७ सय ४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : २० बजे