
काठमाडौ : सिसाखोला तामाङ समाज काठमाडौको अध्यक्षमा पुनः पासाङ तामाङ सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौको कपनमा सम्पन्न पाँचौं साधारण सभा एवं प्रथम अधिवेशनबाट अध्यक्ष तामाङ सहित कार्यसमितिका सम्पूर्ण सदस्यहरु सर्वसम्मत चयन हुनुभएको हो ।
आगामी पाँच बर्षको लागि उपाध्यक्षमा पेमसाङ्गे तामाङ (ढिकुरे) सचिवमा राङडोल तामाङ (लाप्चा) कोषाध्यक्षमा असीम तामाङ (चिम्दिङ) र सहसचिवमा मिङमार तामाङ (च्याङसर) चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा बिर्गा सिं तामाङ (चिम्दिङ), सन्तिमाया तामाङ (चिम्दिङ), तिर्थ तामाङ (लाप्चा), फूलमाया तामाङ (लाप्चा), र दुधीमाया तामाङ (लाप्चा) चयन हुनुभएको छ । सेर्बा तामाङ (घुन्सा), पासाङ तामाङ (घुन्सा), मीना तामाङ (घुन्सा), पूर्ण तामाङ (प्रिङदिङ), पेमारिन्जी तामाङ (गुप्ती/सिंगाने), पासाङ दोर्जी तामाङ (ढिकुरे), जय तामाङ (जुगे) दोर्जी तामाङ (धारापानी) र पूर्णमान तामाङ (धारापानी) पनि कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।


सिसाखोला तामाङ समाज काठमाडौ, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ८ केरुङ, वडा नं. ९ गोराखानी र वडा नं. १० टाप्टिङबाट काठमाडौमा आई बसोबास गर्ने तामाङ समुदायको साझा संस्था हो ।
काठमाडौमा रहँदा बस्दा त्यस भेगका तामाङ समुदायलाई हुन सक्ने आपतविपतमा सहयोग गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको सिसाखोला तामाङ समाज काठमाडौमा २ सय भन्दा बढी घरपरिवार सदस्य छन् ।
२१ जनालाई ४ लाख २५ हजार सहयोग
सिसाखोला तामाङ समाजले स्थापनाको पाँच बर्षमा २१ जनाका लागि स्वास्थ्य उपचार गर्नका लागि ४ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको समाजका कोष संयोजक राङ्डोल तामाङले जानकारी दिनुभयो । साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले रोगको प्रकृति, विरामीको आर्थिक अवस्था हेरेर प्रति बिरामी १५ हजार देखि २५ हजार रुपैयाँसम्म उपलब्ध गराएको जानकारी गराउनुभयो ।
यसका लागि हरेक सदस्यले मासिक सय रुपैयाँका दरले बार्षिक १ हजार २ रुपैयाँ संकलन गर्ने गरिएको छ । संस्थाको भौगोलिक क्षेत्रबाट काठमाडौमा उपचार गर्न ल्याएका बिरामी एवं विभिन्न सामाजिक कार्यमा खर्च गरी ४ लाख ६९ हजार ६ सय २८ रुपैयाँ मौज्दात रहेको कोष संयोजक तामाङले जानकारी गराउनुभयो ।
सिसाखोला तामाङ समाज भरोसाको केन्द्र
सिसाखोला तामाङ समाज काठमाडौ गठन भएपछि आफ्नो समुदायका मानिसहरुले आपतविपत परेको खण्डमा भरोसा गर्न थालेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । अधिवेशनको उदघाटन सत्रमा बोल्दै तामाङ सेवा केन्द्र नेपालका अध्यक्ष अम्बर तामाङले आफ्नो समाज भित्र भैपरी आउने काममा सरसहयोग गर्ने संस्कृति विगत देखि नै रहँदै आएको र सिसाखोला तामाङ समाज गठन भएपछि अझ यसलाई संस्थागत गरेको बताउनुभयो । उहाँले तामाङ समाज गठन भएपछि समुदायको उत्थानमा ठूलो सहयोग गरेको पाईएको बताउनुभयो ।

यस्तै सिसाखोला तामाङ समाजका सल्लाहकार समेत रहेका तामाङ सेवा केन्द्र नेपालका महासचिव तेके तामाङले समाजमा मर्दापर्दा आर्थिक रुपमा सक्षम भएका व्यक्तिहरुमा सबै जना भेला हुने तर विपन्न भए कमै मानिसले मात्र ध्यान दिने गरेको सामाजिक संरचनालाई सिसाखोला तामाङ समाजले समानता प्रदान गरेको बताउनुभयो । उहाँले उपचारका क्रममा आफ्ना समुदायका मानिसहरुलाई भवितव्य परेको बेला आर्थिक एवं भौतिक रुपमा पनि उत्तिकै साथ दिएको स्मरण गर्नुभयो । महासचिव तामाङले दीर्घ एवं अलि ठूला प्रकृतिको रोग लागेका व्यक्तिहरुलाई ५० हजार रुपैयाँ सहयोग गर्न सक्यौं भने पीडितले केही राहत महसुस गर्ने बताउनुभयो ।

कार्यक्रममा तामाङ सेवा केन्द्र नेपालका संरक्षक समितिका संयोजक पाल्देन तामाङले २०३४ सालतिर उच्च शिक्षा अध्ययनको क्रममा काठमाडौ आउँदा आफ्नो समुदायको कोही पनि नभएको स्मरण गर्दै अहिले त्यो अवस्था नभएको बताउनुभयो । उहाँले सिसाखोला तामाङ समाज समुदायको आवश्यकताले जन्माएको संस्था भएकाले यसले भोलिको दिनमा पनि समाजको आवश्यकतालाई सम्बोधन गर्दै जानुपर्ने बताउनुभयो ।
‘म आउनु अघि हाम्रो गाउँको २ जना मात्र आउनु भएको रैछ । तर पछि मात्र थाहा पाएँ’ उहाँले भन्नुभयो ‘अहिले त २ सय भन्दा बढी घरपरिवार काठमाडौमा छौं’
आफ्नो समुदायका मानिसहरु काठमाडौमा नहुँदा धेरै समस्याहरु झेलेको र केही पहिले नै काठमाडौ प्रवेश गरेको नाताले सिसाखोला क्षेत्रका कतिपय मानिसहरुलाई समस्या परेको खण्डमा सहयोग गर्ने, एकजुट गर्ने लगायत काम गरेको स्मरण गर्नुभयो ।
उहाँले समुदायको समस्यासँग डटेर सामना गर्ने सामर्थ्य सिसाखोला तामाङ समाजले राख्नसक्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति समेत रहेका समाजका अध्यक्ष पासाङ तामाङले आफ्नो पाँच बर्षे कार्यकालमा आफ्नो समुदायको उत्थानका लागि धेरै प्रयास गरेको र अबको कार्यकालमा अझ बढी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफूलाई विश्वास गरेर फेरि पनि जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै सदस्यहरुलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।








