४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

दुर्लभ जन्तरे र टेक नाछिरिङले यसरी बनाए विश्व कीर्तिमानी [भिडियोसहित]

यसअघि हाईएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा कायम भएको विश्व रेकर्ड ब्रेक



काठमाडौं । गीतकार दुर्लभ जन्तरे र गायक टेक नाछिरिङले विश्व कीर्तिमान कायम गरेका छन् । विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज वल्र्ड रेकर्डमा ‘सुन्दर हिमाल’ बोलको सन्देशमूलक गीतको विश्व कीर्तिमान कायम गरेका हुन् ।

हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका मेरापिक जाने बाटोस्थित खारेमा पुगेर छायांकन गरिएको म्यूजिक भिडियोलाई गिनिज वल्र्ड रेकर्डले विश्व कीर्तिमानको मान्यता दिएको गीतकार तथा म्यूजिक भिडियो निर्देशक दुर्लभ जन्तरेले बताए । ‘हामी म्यूजिक भिडियो छायांकनको क्रममा जति धेरै उचाईमा जान सकिन्छ, त्यत्तिनै प्रयास गर्यौं,’ गीतकार जन्तरेले भने, ‘अन्ततः हामी समुन्द्र सतहबाट ५ हजार २० मिटरको उचाईमा पुगेर म्यूजिक भिडियो छायांकन गर्यौं ।’

खारेमा छायांकन गरिएको म्यूजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका हुन् । निर्देशक राईसँगै मोडल तथा डान्सर सिर्जना किराँती, पत्रकार शिखरजंग श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्कीले अभिनय गरेका छन् ।

गंगाराम राईको छायांकन रहेको म्यूजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्देशक जन्तरेले बताए ।

गिनिज वल्र्ड रेकर्डको मान्यतासँगै यसअघि हाईएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली यूवाहरु सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस

https://youtu.be/puAe8HWonz8

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ३ : ०६ बजे