आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण : सांसद राई [भिडियोसहित]

  सगरमाथा अनलाईन

काठमाडौ । काठमाडौ क्षेत्र नं. ३ का संघीय सांसद कृष्ण राईले मुलुकको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको सेयर प्रमाणपत्र वितरण कार्यक्रममा सांसद राईले सहकारी संस्थाहरु नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले सिङ्गो मुलुकले सहकारीलाई अंगीकार गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले सहकारीले आर्थिक समृद्धि मात्र ल्याउने नभई यसको दुरुपयोगका कारण जेल जीवन समेत विताउनु पर्ने दृष्टान्त पेश गर्दै उनले दुधकुण्ड सहकारीले सहकारी सदस्यहरुमा आर्थिक समृद्धि ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

सांसद राईले सहकारीको रकम अपचलन गरेर जेल जीवन विताईरहेका इच्छाराज तामाङ तथा सुधीर बस्नेत लगायतको नाम लिदै उनीहरुबाट धेरै परिवार प्रताडित रहेको बताए ।

’हाम्रा पूर्खाले भन्नुहुन्थ्यो, आगो र पानीसँग खेल्नु हुँदैन, म त भन्छु अझ पैसासँग जोगिनुपर्छ । पैसा हिनामिना ग¥यौं भने इज्जत नष्ट हुन्छ, त्यसैले सहकारी सञ्चालकहरुले आर्थिक अभिलेख पारदर्शी तरिकाले राखेको छ छैन ? सदस्यहरुले बेला बेलामा हेर्ने गर्नुपर्दछ ।’ उनले भने ।


दुधकुण्ड वचत तथा ऋण सहकारी संस्था लिमिटेड सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ७ नाजिङबाट काठमाडौ आएर बसोबास गर्दै आएका महानुभावहरुको पहलमा स्थापना भएको हो । अनौपचारिक रुपमा ११ बर्ष देखि नै आर्थिक कारोबार गर्दै आएको भएपनि हालै गोकर्णेश्वर नगरपालिका कार्यालयमा दर्ता गरी सबै सेयर धनीलाई सेयर प्रमाण पत्र वितरण गरेको हो ।

सहकारी संस्थाका कोषाध्यक्ष चित्रध्वज खत्रीका हाल ५२ जना पुरुष र २९ जना महिला गरी ८३ जना सेयरधनीहरु छन् । सहकारीको कुल पूँजी ८७ लाख, ६७ हजार ७ सय रुपैयाँ रहेको कोषाध्यक्ष खत्रीले जानकारी दिएका छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा स्थापना भएको दुधकुण्ड बचत तथा ऋण सहकारी संस्थालाई आउँदो दिनमा सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ७ मा समेत शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

१०/१५ लाख लगानीका लागि समस्या नहुने

सेयर प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका सचिव डा. खड्ग नारायण श्रेष्ठले अब १०/१५ लाख रुपैयाँ लगानीका लागि कुनै समस्या नपर्ने बताए । उनले बैंकले ऋण दिंदा सम्पति धितो राखेर मात्र ऋण दिने भएकाले भौतिक सम्पति नहुनेले ऋण नै नपाउने अवस्था सिर्जना हुने भन्दै सहकारी संस्थामा सामूहिक जमानीको आधारमा पनि ऋण दिन सकिने भएकाले भौतिक सम्पति नभएका व्यक्तिले पनि ऋण लिएर लगानी गर्न सकिने बताए ।


कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्ष मनोज ढुङ्गानाले आफू पनि लामो समयदेखि सहकारी संस्थामा जोडिएकाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेमा मात्र सहकारीसँग जोडिएका व्यक्तिहरुको आर्थिक समृद्धि हुने बताए । उनले वचत गर्ने र व्याज मात्र खाने नीति हो भने सहकारीको लगानी बाहिर जान सक्ने भएकाले सहकारी भित्रकै सदस्यहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।


सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा रहेको कार्यालयमा आएर सल्लाह सुझाव दिन आग्रह गरे । कार्यालय सञ्चालक समितिको मात्र नभई सबै सेयरधनीहरुको पनि भएकाले कार्यालयको ढोका सधैं खुला हुने र रचनात्मक सल्लाह सुझावलाई सदैव स्वागत गरिने बताए । उनले अब दुधकुण्ड वचत तथा ऋण सहकारी संस्थामा सोलुको गार्माका मात्र नभई अरुलाई पनि जोडिदै लैजाने र आर्थिक क्रियाकलापलाई बढावा दिने बताए ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार