बारा र चितवनमा सर्वदलीय बैठकको तयारी

  सगरमाथा अनलाईन
112 Shares

काठमाडौं । बारा र चितवनमा आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन । आज (सोमबार) बिहान सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गर्ने तयारी गरिएको बुझिएको छ ।

तनहुँमा आइतबार रातिबाटै मतगणना शुरु भए पनि बारा र चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो । बारा र चितवनमा सोमबार बिहान सर्वदलीय बैठक बसेपछि गणना शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । लामिछानेको उजुरीमाथि निर्णय नभई मतगणना गर्न नदिने नेपाली कांग्रेसको अडान छ ।

सोमबार बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र बैठकको निर्णयअनुसार मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।

यसैगरी बारा २ मा सबै मतदानस्थलबाट मतपेटिका संकलन गरेर सकिए पनि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सोमबार सर्वपक्षीय बैठकपछि मतगणना शुरु गरिनेछ ।

बारामा आइतबार राति बैठक बस्ने तयारी गरिए पनि हावा हुरी र वर्षाका कारण सर्वदलीय बैठक बस्न सकेन । हावाहुरी चलेकै कारण राजनीतिक दलका प्रतिनिधिहरू बैठकमा नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।

नेपाली सेनासहितका सुरक्षाकर्मीको रेखदेखमा बाराको कलैयास्थित मतगणनास्थलमा मतपेटिकाहरू राखिएका छन् । यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार