काठमाडौँ । डेढ शताब्दीअघिको सत्य घटनामा आधारित नाटक ‘मेषी दण्ड’ साउन ५ शुक्रबारदेखि मञ्चन भएको छ । रंगकर्मी अनिल सुब्बाको निर्देशन, गीलु रातोसको लेखनमा बनेको उक्त नाटक साउन २७ सम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।
राणाकालिन समयमा नाङपाला नाकाहुँदै तिब्बत जाने क्रममा राणा र उनीहरुका भारदारहरुको समूह सोलुखुम्बुको खालिङ गाउँ राप्छामा बास बस्न पुगे । तत्कालिन समयमा त्यहाँ खालिङ जाति बाहेकका समुदाय कोही थिएनन् । उनीहरु त्यसबेला खालिङ भाषा बाहेक अरु भाषा जान्दैनथे । नेपाली भाषा बोल्नलाई आवश्यकता पनि थिएन । त्यसैले खालिङ भाषामात्रै बोल्दथे ।
राणा र उनीहरुका सेनालाई खालिङहरुले खानेकुरा र बस्नको लागि बासको व्यवस्था गर्नुपर्छ भन्दै राणाले भन्छ । खालिङहरुले पनि आफ्नै खालिङ भाषामा ‘मेषी हजुर’ भन्छन् । खालिङ भाषामा ‘मेखी’को अर्थ ‘हुन्छ’ भन्ने हो । मेखी हजुर भनेको राणा र उनका भारदारहरुले बुझ्दैनन् । के हो यो मेखी भनेको भन्दै राणाले जंगीएर सोध्छ ? खालिङको एक जना तालुकदारले हुन्छ भनेको हो हजुर भन्दै हात जोड्छन् । त्यत्तिकैमा राणाले झोक्किदै भन्छ । गाईखाने भाषा बोल्ने ? अब तिमीहरुले हरेक वर्ष ‘मेषी दण्ड’ तिर्नुपर्छ भनेर आदेश दिन्छ । त्यही विषय वस्तुलाई आधार मानेर लेखकले नाटक लेखेका हुन् ।
नाटकमा हृदय विदारक रोदन र दुःखमात्रै छैन । प्रेम र हाँस्यरस पनि भरपुर मिसाइएको छ । भाषा सिक्न कार्कीलाई खालिङ गाउँमै लगेर जग्गा, जमिन र घर बनाइदिएर नेपाली भाषा सिक्न थालिएको दृष्य पनि कम्ति रामाइलो छैन । त्यत्ति मात्र होइन दुधकोशी नदी तर्नको लागि डोरीको तुइन बनाएर वारपार गरेको दृष्यले अझै पनि नेपालको विभिन्न भूभागमा भएको तुइनको झल्को दिने गरेको छ ।
नाटकमा हृदय विदारक दृष्य, दण्ड, कारुणिक आवाज, बाध्यत्मक परिस्थिति, प्रेम कहानी र एक अर्काबीचको द्धन्द्ध पनि देख्न सकिन्छ । अन्त्यमा दुधकोशी नदी पार गर्ने क्रममा खालिङ तालुकदार त्यही दुधकोशी नदीमा खस्छ । उनको आत्मालाई बाटो देखाउन धामीले चिन्ता बस्छ । तर, उनको आत्माले साथी खोजेको भन्दै भड्किएको धामीले बक्छ । सबैले फकाएर मर्नेको बाटो अलग, बाँच्नेको बाटो अलग भन्दै सम्झाएपछि उनको आत्माले शान्ति पाउँछ र आफ्नो बाटो लाग्छ । नाटक सकिन्छ ।
नाटकमा कलाकारहरुले दमदार प्रस्तुती गरेका छन् । कथाको पात्रले भरपुर अभिनयको भित्री तहमा पुगेर अभिनय गरेका छन् । नाटक हेर्दा डेढ शताब्दी अधिको खालिङ समुदायमा पुगेको आभास हुन्छ । नाटकमा अधिकांश शब्दहरु खालिङ भाषामै बोलिएको छ । तत्कालिन समयमा खालिङले लगाउने पहिरन र गाउँको अवस्थालाई जीवन्त रुपमा नाटकमा उतार्न खोजिएको छ ।