८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

कालजयी गायक अरुण थापा : बिर्सँदै गएका अमर स्वर



निनाम लोवात्ती

नेपाली संगीतको अमर धरोहर

नेपाली गीत-सङ्गीतको सुनौलो इतिहासमा अरुण थापा एक कालजयी नाम हो। सुमधुर स्वर र गहिरो भावनाले भरिएका उहाँका गीतहरू आज पनि लाखौं श्रोता-दर्शकको हृदयमा बजिरहेकै छन्। तर, विडम्बना-२६ वर्षअघि यो धरोहर गुमाइसके पनि उहाँलाई बिर्सँदै जाने क्रम रोकिएको छैन ।

संसारमा मान्यता पाएको स्वर

वि.सं. २०५६ साउन ५ गते, ५२ वर्षको उमेरमा अरुण थापाको निधन भयो। उहाँले गाएको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ सन् २००३ मा बीबीसी विश्व सेवाको विश्वस्तरीय सर्वेक्षणमा उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा परेको थियो। यो उपलब्धिले उहाँको स्वरको अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता दिएको स्पष्ट प्रमाण हो।

जीवन र पृष्ठभूमि

वि.सं. २००९ सालमा भारतको कलकत्तामा जन्मिएका अरुण थापा मगर समुदायभित्रको ‘थापा’ थरका थिए। नेपाली, मैथिली, र लिम्बूसहितको बहुभाषिक सांगीतिक माहोलमा हुर्केका उहाँले आफ्नो नाम मात्र ‘अरुण थापा’ लेख्ने गर्थे।

दुर्भाग्यवश, उहाँको अन्तिम यात्रा आफ्नै घरमा नभई काठमाडौँको बागबजारस्थित एक गेष्ट हाउसमा कारुणिक ढंगले समाप्त भयो।

कालजयी गीतहरूको थुप्रो

अरुण थापाले गाएका गीतहरूमा मानवीय भावना, प्रेम, पीडा र आशाको अद्वितीय मिश्रण भेटिन्छ। स्मरणीय गीतहरूमा-

जति माया लाए पनि, जति कसम खाए पनि

साँझको जूनसँग

भुलु भुलु लाग्यो मलाई

बितेका मेरा तिता मिठा

ऋतुहरूमा तिमी हरियाली वसन्त हौ

दोष कसैलाई दिन चाहन्न

जिन्दगी के छ र आखिर

म रोए पनि तिमी हाँसी दिनु

यी मात्र केही उदाहरण हुन्, जसले नेपाली संगीतमा उहाँको अमिट छाप छोडेका छन्।

जीवनका चुनौती र मानवीय पक्ष

लेनिनको भनाइ अनुसार, “गल्ती भगवानले मात्र गर्दैन, किनभने भगवान भन्ने नै हुँदैन।” मानिसका जीवनमा कमजोरी हुनु स्वाभाविक हो। अरुण थापा पनि यसबाट अछुतो रहेनन्। नजिकका मित्रहरूको अनुसार, वैवाहिक जीवनमा असफलता उहाँका व्यक्तिगत संघर्षहरूमा प्रमुख थियो।

स्मृतिमा अमर

वि.सं. २०६० सालमा नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघले रु. ५०,००० को अक्षयकोष स्थापना गरी “अरुण स्मृति सङ्गीत पुरस्कार” सुरु गरे। यसको उद्देश्य उहाँको योगदानलाई पुस्तौं-पुस्ता स्मरण गरिराख्नु हो।

अन्तिम श्रद्धाञ्जली

२६औं स्मृति दिवसको अवसरमा, अरुण थापालाई सम्झन केवल कार्यक्रम मात्र होइन, उहाँको गीत सुनेर हृदयमा जगेर्ना गर्ने बेला हो। समयसँगै अनुहार बिर्सन सकिएला, तर स्वर र भावनालाई बिर्सन सकिँदैन।

यो पङ्क्तिकारको तर्फबाट, गहिरो श्रद्धाञ्जलिसहित दुई थुँगा फूल, कालजयी गायक अरुण थापाको स्मृतिमा।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ३० बजे