काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएरहेको विभागले जानकारी दिएको छ । शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा उच्च जोखिमको सम्भावना रहेको महाशाखाले बताएको छ ।

यस्तै कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।