काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग मंगलबार साँझ साढे ४ बजेको समय लिइएको छ । वर्तमान सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा दिने तयारी छ ।
कोशीमा गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी गरेका थिए । समझदारीपछि आजै नयाँ मन्त्रीको शपथको टुंगो लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
वर्तमान सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
सरकारमा रहेका मन्त्रीले आजै राजीनामा दिने एमाले नेता समेत रहेका भण्डारीले बताए ।
उनीहरूको राजीनामापछि एमालेबाट विदुर लिङथेप, चिन्तन पाठक, इन्द्रमणि पराजुली, रामकुमार महतो मन्त्री बन्नेछन् । लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा र पराजुलीलाई आन्तरिक मामिला तथा कानुन, महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेसबााट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू, इस्राइल मन्सुरी मन्त्री बन्दैछन् । सुनारलाई भौतिक पुर्वाधार ,पराजुलीलाई पर्यटन वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग कृषि तथा सहकारी बनाउने तयारी छ । शोभा चेम्जोङ राज्यमन्त्री बन्नेछिन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार विगतमा भागबण्डामा परेकै मन्त्रालय दुई दलले लिनेछन् ।
‘मन्त्रालय उही हुन्, व्यक्ति फेर्ने तयारी हो,’ स्रोतले भन्यो,‘ फेर्ने भनिएको धेरै भयो ।’







