सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सोलुखुम्बुले जिल्लाका विभिन्न सार्वजनिक शिक्षण संस्थामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण गराएको छ।
युनियनले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा निर्वाचनको संवेदनशील अवधिमा शिक्षक, विद्यालय प्रशासन तथा क्याम्पस प्रमुखहरू स्वयं राजनीतिक दलको झण्डासहित चुनावी कार्यक्रममा सहभागी भएको आरोप लगाइएको छ। यसले शिक्षा क्षेत्रको तटस्थता, मर्यादा र प्रचलित कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ।
पत्रअनुसार सिंहकाली आधारभूत विद्यालय, तिङ्लाका प्रधानाध्यापक हर्कबहादुर राई तथा वरबोट आधारभूत विद्यालयका शिक्षक गणेश राई नेपाली कांग्रेसको झण्डासहित प्रत्यक्ष चुनावी प्रचार-प्रसारमा संलग्न देखिएका छन्। यस्तै, लिखुपिके गाउँपालिकाअन्तर्गत हिम गंगा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्वाचनका क्रममा नेपाली कांग्रेसको कार्यक्रममा झण्डासहित उपस्थित भएको तथा सोताङ गाउँपालिकाअन्तर्गत सोताङ पब्लिक क्याम्पसका क्याम्पस प्रमुख हरिनाथ राई (नेकपा एमाले) को कार्यक्रममा प्रत्यक्ष सहभागी भएको उल्लेख छ।

अखिल (क्रान्तिकारी) ले विद्यालय र क्याम्पस राजनीतिक दलका अखडा बन्न नहुने भन्दै शिक्षक, प्रधानाध्यापक, क्याम्पस प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू कुनै पनि दलको चुनावी कार्यकर्ता बन्नु गैरकानुनी भएको स्पष्ट पारेको छ। राज्यको तलब–सुविधा र सार्वजनिक स्रोत प्रयोग गर्दै खुलेआम दलगत झण्डा बोकेर प्रचारमा लाग्नु संविधान र प्रचलित कानुन विपरीत भएको युनियनको ठहर छ।
यस्ता गतिविधिलाई समयमै नियन्त्रण नगरे शिक्षा क्षेत्र पूर्ण रूपमा राजनीतिक प्रभाव र भागबण्डाको अखडा बन्ने खतरा रहेको भन्दै यसको सम्पूर्ण जिम्मेवारी राज्य संयन्त्र र जिल्ला प्रशासनमाथि रहने चेतावनी दिइएको छ।
अखिल (क्रान्तिकारी) सोलुखुम्बुले उल्लिखित घटनाहरूको तत्काल, निष्पक्ष र गम्भीर छानबिन गरी संलग्न शिक्षक, पदाधिकारी तथा आयोजकमाथि निर्वाचन आचारसंहिता, प्रचलित कानुन र सम्बन्धित सेवा नियमावलीअनुसार कडा कारबाही गर्न माग गरेको छ। साथै, यस्ता गतिविधि दोहोरिन नदिन जिल्लाभरका विद्यालय, क्याम्पस र सार्वजनिक संस्थामा स्पष्ट निर्देशन जारी गर्न पनि आग्रह गरिएको छ।
पत्रमा अध्यक्ष सोनाम शेर्पा र इन्चार्ज वन्दना राईको हस्ताक्षर रहेको छ।







