काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
विशेष समारोहबीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् ।
माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।

जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।
माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले तालमेल भएको थियो । सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
बागमती प्रदेशबाट गीता देवकोटा र डा। प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।






