१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

वर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आदेश


१ आश्विन २०७६, बुधबार  

21
Shares

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै निरन्तर परेको वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह आदेश दिएको छ ।

मंगलबारदेखिको जारी वर्षा रोकिन केही दिन रहने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेपछि विभागले आरोहीहरूको सुरक्षामा ध्यान दिन पर्वतारोहण एजेन्सीहरूलाई आग्रह गरेको हो । सो आग्रह वा अटेर गर्नेलाई कार्वाही समेत गर्ने भनि प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

विभागअन्तर्गतको होटल तथा पर्वतारोहण डिभिजनलेले असोज २ सम्म मौसम प्रतिकूल हुने रिपोर्ट आएको उल्लेख गर्दै आफूमार्फत विभिन्न हिमाल आरोहणमा गएकाहरूको सुरक्षित बसोबास मिलाउन एजेन्सीहरूलाई निर्देशन दिएको छ । साथै उसले हिमाल आरोहणको अनुमति लिएकाहरूलाई मौसमको अनुकूलता हेरेर मात्र त्यसतर्फ पठाउन भनेको छ ।

‘केही दिन मौसम प्रतिकूल रहने पूर्वानुमान रहेको हुँदा पर्वतारोहण कार्य व्यवस्थापन गर्ने एजेन्सीहरूले आफूमार्फत विभिन्न हिमाल आरोहणका लागि गएका सबै व्यक्तिहरूको सुरक्षित बसोबास तथा आरोहणको व्यवस्था मिलाउन हुन अनुरोध छ’, विभागले भनेको छ, ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहण कार्य गर्नुरगराउनु हुन अनुरोध छ ।’

हिमाल आरोहणको सिजन भएकाले यतिबेला पर्वतारोहरण एजेन्सीमार्फत केही आरोहणमा छन् भने केही जाने क्रममा छन् । हिमाल आरोहणमा रहेका र अनुमति लिएर त्यसतर्फ जान लागेको संख्याबारे भने विभागले केही खुलाएको छैन ।

स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई पर्वतारोहण एजेन्सीहरूले हिमाल आरोहण गराउने गरेका छन् । तर, यस्ता एजेन्सीहरूले पर्वतारोहीहरूको सुरक्षामा ध्यान नदिँदा बेला–बेलामा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ३१ बजे