५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

मिश्रको हत्याको आरोपमा पाँच सार्वजनिक


११ माघ २०७३, मंगलबार  

0
Shares

गौशाला, ११ माघ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँच जनालाई आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतसहित पाँच जनालाई सार्वजनिक गरेको हो ।

हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । ज्योति मृतक अञ्जनीकी कान्छी श्रीमती तथा कुबेर काका ससुरा हुन् । फिरोज र तुफान जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह)मा सक्रिय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्याराका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

Sagarmatha

उहाँका अनुसार हत्याको प्रमुख कारण यौन सम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा छ । मिश्रलाई गत पुस २९ गते राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७३, मंगलबार  ८ : ५६ बजे