१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

चार महिनामा ४७ जना कुष्ठरोगी फेला


१६ माघ २०७३, आइतबार  

0
Shares

धनगढी १६ माघ । कैलाली जिल्लामा चार महिनामा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार, जिल्लाको धनगढी उपमहानगरपालिका र पथरैया गाविसमा बढी सङ्ख्यामा कुष्ठरोगी फेला परेका हुन् ।

पहिलेको तुलनामा जिल्लामा यो रोगका बिरामी रहने दर घट्दै गएको भए पनि अरु जिल्लाको तुलनामा यहाँ कुष्ठरोगीको सङ्ख्या भने घट्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय तथा कुष्ठरोग सहायक प्राविधिक दीपेन्द्र जोशीले भन्नुभयो– नयाँ फेला परेका र पहिलेका बिरामीसमेत गरी हाल ९० जना उपचारमा रहेका छन् ।

Sagarmatha

प्रति दश हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी पुगेमा कुष्ठरोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिमका कैलालीमा अझै दश हजार जनसङ्ख्यामा एक भन्दा बढी बिरामी फेला पर्ने गरेका छन् ।

पत्ता लाग्ने रोगीमध्ये कम सर्ने खालका ५१ प्रतिशत र बढी सर्ने खालका ४९ प्रतिशत रहेका छन् । राष्ट्रिय रुपमाप्रति दश हजार जनसङ्ख्यामा शून्य दशमलव शून्य आठ जनामा यो रोग भेटिने गरेको रोग निवारणमा संलग्न नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनका डा कृष्णप्रसाद ढकालले बताउनुभयो ।

कुष्ठरोग लाग्ने सम्भावना भएका जिल्लाका बासिन्दालाई लक्षित गरी आगामी दिनमा खोज पड्तालमार्फत् बिरामीलाई औषधि खुवाउने अभियान सुरु गर्ने योजना बनिरहेको पनि डा. ढकालले बताउनुभयो ।

मानिसको छालामा लाटो फुस्रो दाग देखिने, छाला सुन्निेने, हात खुट्टा झम्झमाउने यो रोगका लक्षण हुन् । समयमै उपचार हुन नसकेमा रोगी अपाङ्ग हुन सक्दछ ।

कुष्ठरोगलाई पूर्णरुपमा निवारण गर्ने सरकारको लक्ष्य छ । ‘समयमा नै कुष्ठ रोगको उपचार गरौँ, आपाङ्गता हुनबाट बचौँ ं‘ भन्ने नाराका साथ आज यस वर्षको कुष्ठरोग दिवस मनाइँदै छ ।

प्रकाशित मिति : १६ माघ २०७३, आइतबार  १० : ४२ बजे