१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

आलुको माउ बीउ उत्पादन सुरु


१८ माघ २०७३, मंगलबार  

7
Shares

डडेल्धुरा, १८ माघ । पहिलोपटक आलुको माउ बीउ उत्पादन सुरु गरिएको छ ।

असीग्राम गाविसस्थित भातकाँडामा आलुको उत्पादनलाई बढाउन व्यावसायिक किसानलाई माउ बीउ उपलब्ध गराउन माउ बीउको उत्पादन सुरु गरिएको हो ।

साना–तथा मझौला आयोजना परियोजनाका अनुसार स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिद्वारा आलुको माउ उत्पादन सुरु गरिएको हो । टिस्यु कल्चर प्रविधिद्वारा रोपेको बिरुवा ९० दिनमा तयार हुने सो परियोजनाका कृषि प्राविधिक नवराज भट्टले जानकारी दिनुभयो ।

पाचँ पटकसम्म बीउ स्क्रिन हाउसभित्र उत्पादन गरिसकेपछि छैँटौ पटकमा मात्रै बारीमा व्यावसायिक रुपमा आलु उत्पादन गर्न मिल्छ । किसानलाई कम लगानीमा बढी फाइदा र आधुनिक प्रविधिबाट बीउ उत्पादन गर्न प्रविधि भ्यिाइएको भट्टको भनाइ छ ।

हालै निर्माण गरिएको स्क्रिन हाउस प्रविधिबाट एक पटकमा ७५ हजार दाना माउ बीउ उत्पादन गरिने र वार्षिक तीन पटकसम्म उन्नत, स्वस्छ र निरोगी बीउ उत्पादन हुने बताइएको छ । उत्पादित माउ बीउबाट आलु उत्पादनमा दोब्बरले वृद्धि हुने भट्टले बताउनुभयो ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु ४२ लाख अनुदान तथा रु २१ लाख बराबरको स्थानीय कृषकको श्रमदानबाट स्क्रिन हाउस निर्माण गरिएको आलुको पूर्व मूल बीउ उत्पादन एवम् वीजवृद्धिका व्यवस्थापक तर्कराज भट्टले जानकारी दिनुभयो ।

असिग्रामका कृषक अन्न बालीभन्दा तरकारीतर्फ आकर्षित हुँदै गएका छन् । तरकारीमा पनि सो ठाउँ आलुका लागि प्रख्यात रहेका कारण उक्त क्षेत्रमा माउ बीउ उत्पादन गर्ने प्रविधि राखिएको हो । आलुको उत्पादनलाई बढाउन र स्वस्थ्य तथा निरोगी बीउ दिनका लागि सो प्रविधि ल्याइएको हो ।

आधुनिक प्रविधिबाट आलुको बीउ उत्पादन गरिँदा किसानले मूल्य र बजार सहजै पाउने जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो ।

प्रकाशित मिति : १८ माघ २०७३, मंगलबार  १० : १२ बजे