९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

शिक्षा र स्वास्थ्यका आवश्यकता पूरा भए मुलुक समृद्ध हुने



काठमाडौँ, २७ माघ । स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्कने बताउनुभएको छ ।

‘आजकोे शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको हेर्न चाहेको मन्त्री थापाले जनाउनुभएको हो ।

उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरु परनिर्भर भइरहनुनपर्ने पनि उल्लेख गर्नुभयो ।

Sagarmatha

मन्त्री थापाले ‘आजको शिक्षाडटकम’ को शुभारम्भ पनि गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले सो पत्रिकाको सफलताको कामना गर्नुभयो ।

शिक्षाकर्मी सम्मानित

कार्यक्रममा शिक्षाविद्, शिक्षा सेवी र पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा डा विद्यानाथ कोइराला, डा बाबुराम अधिकारी, डा भोला दाहाल, महाश्रम शर्मा, रमाकान्त शर्मा, जीतबहादुर साह, उत्तरकुमार पराजुली, प्रकाशसिंह अधिकारी, कृष्ण सुवेदी, टीकाराम रेग्मी, इन्द्रकुमार श्रेष्ठ, प्रकाश सिलवाल, लक्ष्मण केसीलगायत हुनुहुन्थ्यो । सो पत्रिका १० वर्षअघि सुदर्शन सिग्देलको सम्पादनमा प्रकाशित हुँदै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७३, बिहिबार  १० : ४९ बजे