१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

शेख कमाल इन्टरनेसनल कप फुटबल



काठमाडौँ, ३ फागुन । बङ्गलादेशमा हुने शेख कमाल इन्टरनेसनल क्लब कपमा सहभागिता जनाउने मनाङ–मस्र्याङ्दी फुटबल क्लबका २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आज बिदाइ गरियो ।

यही फागुन ७ देखि १९ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का मानार्थ अध्यक्ष टासी घले, एन्फा फुटबल विकास निर्देशक सञ्जीव मिश्र तथा मनाङ–मस्र्याङ्दी क्लबका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा ढाका अभानी लिमिटेड, अल्गा अफ किर्गिस्तान, पोचेअन सिटिजन अफ साउथ कोरिया र टिसी स्पोर्टस क्लब अफ माल्दिभ्स छन् ।

त्यसैगरी समूह ‘बी’मा नेपालको मनाङ–मस्र्याङ्दी क्लब, बङ्गलादेशको चित्तागोङ्ग अभानी लिमिटेड, ढाका मोहमदेन स्पोर्टिङ क्लब र शाहीन अस्मायी एएफसी अफ अफगानिस्तान छन् । मनाङले आफ्नो पहिलो खेल यही फागुन ८ गते बङ्गलादेशकै मोहम्मदेन स्पोर्टिङ क्लबसँग खेल्नेछ । टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७३, मंगलबार  १२ : २९ बजे