३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

योजना तर्जुमा गोष्ठी



विराटनगर, ४ फागुन । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, विराटनगरले आज दुई दिने आव २०७४÷७५ को योजना तर्जुमा गोष्ठीको शुभारम्भ गरेको छ ।

मोरङ, सुनसरी, सप्तरी, झापा, इलाम, सिरहा र उदयपुर जिल्लाका कृषि कार्यालयका प्रमुखको सो गोष्ठीमा सहभागिता रहेको छ । सो अवसरमा कृषि विकास कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन, कृषकको माग, भौगोलिक अवस्था, सङ्घीयताको स्वरुपलाई समेत ध्यान दिएर योजनाको छनोट गर्नुपर्ने तथा मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाको भावी रुपरेखाको बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा विदेशबाट फर्केका कृषि पेसामा संलग्न युवाका लागि विशेष कृषि प्याकेज कार्यक्रम, समूह, सहकारी र नीजिलाई छुट्टाछुट्टै अनुदान दिने र एक जिल्लामा एक नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने रणनीति अपनाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले अर्थतन्त्रको मेरुदण्ड कृषि नै भएकाले यसको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले योजना छनोट गर्दा किसानलाई प्रत्यक्ष ढङ्गले लाभ हुनुपर्ने उल्लेख गर्दै योजनालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कृषि मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धानकेन्द्र तरहराका क्षेत्रीय निर्देशक डा हरिकृष्ण श्रेष्ठ, क्षेत्रीय कृषि निर्देशनालयका निमित क्षेत्रीय निर्देशक राजेन्द्र उप्रेती, वरिष्ठ कृषि अर्थविज्ञ डा महादेवप्रसाद पौंडेल, वरिष्ठ कृषि अधिकृत शङ्कर सापकोटा, योजना अधिकृत बद्रीप्रसाद दाहाललगायतले पूर्वाञ्चलका कृषि क्षेत्रको बस्तुस्थितिका बारेमा राज्यमन्त्री तामाङलाई अवगत गराउनुभएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार  ८ : ५३ बजे