३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

शङ्खरापुर नगरपालिकालाई कायम राख्न माग गर्दै रिले अनशन


१३ फाल्गुन २०७३, शुक्रबार  

0
Shares

 

काठमाडौँ, १३ फागुन । शङ्खरापुर नगरपालिकालाई यथावत् कायम राख्न माग गर्दै नागरिक समाज साँखुले आजदेखि रिले अनशन सुरु गरेको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेकोप्रति असन्तुष्ट जनाउँदै शान्तिवाटिकामा रिले अनशन सुरु गरेको हो ।

रिले अनशन बस्नेमा राजुभाइ मानन्धर, जयराम पुडासैनी, पुरुषोत्तम चौलागाईं, गगन रञ्जित, शङ्कर तिवारी, सरिसा मानन्धर, मञ्जु खड्का, गङ्गादेवी कारञ्जित, दिलीपकुमार श्रेष्ठ, हरिगोपाल श्रेष्ठ, सड्कुमार खतिवडा, ओमबहादुर कार्कीलगायत १५ जना रहेका छन् ।

काठमाडौँ क्षेत्र नं २ का सांसद दीपकप्रसाद कुइँकेलले अनशनकारीलाई माला र टीका लगाइदिनुभयो । सांसद कुइँकेलले ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण साँखुको अस्तित्व मेटाउन खोजिएको भन्दै अनशनमा बस्नुपरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउनदेखि विभिन्न किसिमका बन्द गर्दासमेत सुनुवाइ नभएपछि रिले अनशनमा जानुपरेको बताउनुभयो ।

आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको ‘शङ्खरापुर नगरपालिका बचाऔँ सङ्घर्ष समिति’ गठन भई आन्दोलन हुँदै आएको छ ।

अनशन आज नेपाली काँग्रेस, भोलि नेकपा (एमाले) र पर्सि नेकपा (माओवादी केन्द्र) गरी दिनदिनै छुट्टाछुट्टै दल बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७३, शुक्रबार  ८ : ४५ बजे