३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

पर्याप्त बजेट नहुँदा सिँचाइ योजना प्रभावित


२ चैत्र २०७३, बुधबार  

0
Shares

लमजुङ (बेसीसहर), २ चैत । पर्याप्त बजेट नहुँदा लमजुङका सिँचाइ योजना प्रभावित भएका छन् ।

जिल्लामा २०० भन्दा बढी योजनाका लागि कृषकबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिँचाइ डिभिजन कार्यालय लमजुङले जनाएको छ ।

चालु आवमा ४१ वटा मात्रै सिँचाइ योजना सञ्चालनमा रहेको डिभिजन प्रमुख वंशीहरि कोइरालाले बताउनुभयो । “जिल्लाका विभिन्न स्थानबाट २०० भन्दा बढी योजनाको लागि निवेदन परेको छ” डिभिजन प्रमुख कोइरालाले भन्नुभयो “निवेदन आए पनि बजेट नभएर चौथाइ योजनामा मात्रै काम गर्न सकेका छौँ ।”

उहाँले ४१ वटा योजनाका लागि मात्र बजेट स्वीकृत भई आएको बताउनुभयो । उहाँले योजना सञ्चालनका लागि सुरुमा रु साढे पाँच करोडमात्रै आएको र पछि रु साढे छ करोड बजेट थप भएको बताउनुभयो ।

जिल्लामा सञ्चालित ठूला सिँचाइ योजनामध्ये भोर्लेटार सिँचाइ योजना (रु तीन करोड), करापुटार सिँचाई योजना (रु तीन करोड) र राइनासटार सिँचाई योजना (रु साढे तीन करोड) मा काम सुरु भइसकेको छ ।

रम्घाटार सिँचाइ योजना भने एसियाली विकास बैंकको सहयोगमा चैत महिनाभित्रमा सम्झौता हुने तयारीमा छ ।

यसैगरी घेर्मुको रु एक करोड १० लाखमा निर्माण भइरहेको चामेखोला सिँचाइ योजना काम ५० प्रतिशत सकिएको छ । घनपोखराको मुग्रेखोला सिँचाइ योजना रु १७ लाखमा निर्माण थालिएको छ । यस्तै नया प्रविधिमा १३ वटा सिँचाइ योजना रहेका छन् भने ११ वटा सिँचाइ योजना मर्मतसम्भारका लागि रु ५९ लाख बजेट आएको छ ।

जिल्लामा अझै पनि नौवटा योजना सर्भे गर्न बाँकी रहेको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । उहाँले विभागमा बजेट माग गरे पनि बजेट नआएका कारण काम रोकिएको बताउनुभयो ।

योजना छनोट गर्दा योजना नीति नियम, निर्देशिकाअनुसार र लगानीअनुसार जनतालाई फाइदा पुग्ने खालको योजनालाई ध्यान दिने भएकाले पनि किसानको मागअनुसारको योजना नआएको डिभिजन प्रमुख कोइरालाको भनाइ छ ।

उहाँले मर्मतसम्भारका योजना आर्थिक वर्षभित्रै सक्ने र नयाँ प्रविधिका योजना क्रमागत हुने बताउनुभयो । कार्यालयले आगामी आवका लागि रु १६ करोड बजेट प्रस्ताव गरेको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७३, बुधबार  ५ : ५५ बजे