आज तीजको दर

0 Shares

काठमाडौँ, १८ भदौ । नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शास्त्रीय रुपमा निराहार व्रत मात्र बस्ने विधान नरहेको बताउनुहुन्छ । “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ, भोलि निराहार व्रत बस्नु छ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा वर्तालुको स्वास्थ्यमा समस्या आउने गरेको छ, वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएको छ, नसक्नेले निराहार व्रत बस्नुपर्दैन”–उहाँले भन्नुभयो ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिलो प्राथमिकता शरीरलाई दिएर मात्र धर्म साधना गर भन्ने मान्यताका आधारमा पनि स्वास्थ्य खराब हुने गरी व्रत बस्न नभनिएको अध्यक्षको गौतमले बताउनुभयो ।

तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न उहाँले अनुरोध गर्नुभयो । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान छ । नारीले व्रत गर्न नसक्दा उनका श्रीमान्ले व्रत गर्ने प्राचीन परम्परालाई हेर्दा पनि समग्र परिवारकै लागि व्रत बस्ने परम्परा सुरु भएको बुझिन्छ ।

केही वर्षअघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको संस्कृतिका अध्यापक दिनेश थापा मगरले बताउनुभयो । “प्राचीन ऋषि परम्पराअनुसार खोज अनुसन्धान गरी व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि उपयुक्त विषयलाई अघि बढाइएको थियो तर मानिसले पछि थपेका विकृतिले धर्मको वैज्ञानिक पक्षलाई पनि ओझेलमा पार्न थालेको छ”– उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार