१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

बेलहिया बुटवल सडकमा स्वचालित बत्ती


१ बैशाख २०७४, शुक्रबार  

7
Shares

लुम्बिनी, १ वैशाख । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको बेलहिया–बुटवल २४ किलोमिटरको ६ लेन सडकमा सौर्य (सोलार) बत्ती जडान गर्ने कार्य तीव्ररुपमा अगाडी बढाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकखण्डमा अहिलेसम्म झन्डै ४५ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । सडक पूरा भएपछि सबैमा करिब एक हजार ५०० सौर्य बत्ती जडान हुने र त्यसपछि उक्त सडक पूरै झिलिमिली हुने आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभरटोलसम्म रु दुई करोडभन्दा बढी लागतमा १५० सडक सौर्य बत्ती जडान गरिने बताउँदै “सडक बत्ती स्वचालित (अटोमेटिक) हुनेछन्, साँझ परेपछि आफैँ बल्नेछन् भने, उज्यालो भएपछि आफँै निभ्ने छन् भन्नुभयो ।”

दोस्रो चरणमा ड्राइभरटोदेखि मणिग्रामसम्म फेरि १०० सोलार जडान गर्ने योजना रहेको सो आयोजनाले जनाएको छ । सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न सहरमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियानलाई तीव्रता दिएको छ ।

सडकमा सौर्य बत्ती जडानले बिजुलीको खपतसँगै सडकको सुन्दरतालाई बढाउने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण थालिएको यो सडकलाई झिलिमिली बनाउने जिम्मा नवलपरासीस्थित महेश निर्माण कम्पनीले लिएको हो ।

अहिले बेलहिया–बुटवल सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । बुटवलको राजमार्ग चौराहादेखि ड्राइभरटोलसम्म ३५÷३५ मिटरको दूरीमा सडक बत्ती जडान कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७४, शुक्रबार  ७ : ५० बजे