लघुजलविद्युत्को नहर मर्मतपछि विद्युत् उत्पादन सुरु

0 Shares

म्याग्दी, १९ भदौ । अविरल वर्षाको कारण आएको बाढीबाट बन्द भएको म्याग्दीको ओखरबोट गाविसमा रहेको दाजुङखोला लघुजलविद्युत् आयोजना एक महिनापछि पुनः सञ्चालन भएको छ । गत साउन १० गते पहिरोले बगाएको आयोजनाको नहर मर्मतपछि शुक्रबारदेखि आयोजनावाट विद्युत् उत्पादन पुनः सञ्चालन भएको हो ।

पहिरोले बगाएको करिब १५० मिटर नहर मर्मतका लागि स्थानीयवासीले प्रतिघरधुरी रु ५०० सहित श्रमदान गरेको आयोजना अध्यक्ष नन्दबहादुर राम्जालीले बताए । नहरको मर्मत र नदी किनारमा रहेको नहरको सुरक्षाका लागि करिब रु दुई लाख खर्च भएको थियो । ३० किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् ३८० घरधुरीका सर्वसाधारणले उपभोग गर्दै आएका छन् ।

आयोजनाको पानी ल्याउने मुहानदेखि करिब १५० मिटर नहर बगाएपछि विगत एक महिनादेखि त्यहाँका सर्वसाधारण विद्युत् उपभोग गर्नबाट वञ्चित भएका थिए । यस आयोजनाको विद्युत् ओखरबोट, च्युरीबोट, छाप, महभिरलगायत रुम गाविसको खटेनगाउँका सर्वसाधारणले उपभोग गर्दै आएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार