महिला हिंसाका घटना बढे पनि उजुरी घट्दो

0 Shares

ललितपुर, १९ भदौ । महानगरीय प्रहरी परिसर ललितपुर, महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका उजुरी दर्तामा अघिल्लो वर्षभन्दा कमी आएको छ ।
आव २०७२÷७३ मा अघिल्लो वर्षभन्दा झन्डै एक सय कम उजुरी दर्ता भए । पहिले प्रहरीकहाँ गएर मात्रै घटना अदालतमा जाने भए पनि अहिले सोझै अदालतमा जाने प्रवृत्ति बढ्दा उजुरी कम परेको प्रहरीको जिकिर छ । अधिकारकर्मीले भने महिला हिंसाका घटना बढिरहे पनि यस क्षेत्रमा काम गर्ने संस्थाहरु महिलाका मुद्दामा काम गर्न कम गर्दा उजुरी कम परेको जिकिर गर्छन् । ग्रामीण क्षेत्रमा अधिकांश समयमा विभिन्न संस्थाका सहयोगमा महिला हिंसाको घटना दर्ता हुने गरेको छ ।
महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक लालकुमारी खड्का पीडित प्रहरीकहाँ आउनाको साटो अदालत जाने प्रवृत्ति वढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सानोतिनो झगडा पर्नासाथ नै महिलाहरु सम्बन्धबिच्छेद नै गर्न चाहने गर्छन् ।” सानो घरायसी झगडा परेर प्रहरीसम्म आइपुग्दा महिलाहरु सम्बन्धबिच्छेद गर्न हतार गर्छन् । प्रहरीले भने केही समय विचार गरेर मात्रै निर्णय लिन सल्लाह दिने गरेको छ । महिलाहरु अलमलमा पर्नाको साटो आवेगमा सम्बन्धबिच्छेद गर्न चाहने गर्छन् ।
प्रहरीसम्म पर्ने उजुरीको सङ्ख्या केही कम देखिए पनि हिंसाका घटनामा कमी आएको छैन । महिलामा सशक्तीकरण बढेकाले पनि हिंसा सहन कम भएको छ । आर्थिक रुपमा सक्षम भएका कतिपय महिला एक्लै बाँच्छु भन्ने सोचाइ बढेको छ । ग्रामीण क्षेत्रका र अशिक्षित महिला पनि प्रहरीकहाँ आउँदा भने सम्बन्धबिच्छेद गर्ने नै उद्देश्यले आइपुग्छन् । प्रसनि खड्काले भन्नुभयो, “अदालतले उजुरी पर्नासाथ सम्बन्धबिच्छेद नगर्ने भए पनि उताबाटै प्रक्रिया चाँडो हुने अधिकांशको सोचाइ छ ।”
अधिकारकर्मी कला राई बर्सेनि हिंसाको घटना बढिरहेको बताउनुहुन्छ । हिंसाको प्रकृति बदलिए पनि घटनामा कमी आउन सकेको छैन । भूकम्पपछि महिला हिंसाका घटना अझै बढेको छ । उहाँ भन्नुहुन्छ, “बसोबास सुरक्षित हुन नसक्दा जुनसुकै उमेरका महिला पीडित बनेका छन्, घटना बढेको छ ।”
नेपालमा महिला हिंसाका अधिकांश घटना गैरसरकारी संस्था मार्फत नै प्रहरीसम्म पुग्ने अधिकारकर्मी राई बताउनुहुन्छ । भूकम्पपछि धेरै संस्थाहरु भुकम्पकेन्द्रित भएका छन् । महिलाका क्षेत्रमा कार्यरत संस्था महिला हिंसाको साटो भुकम्पमा केन्द्रित छन् । उहाँले भन्नुभयो, “आफू हिंसामा परेपछि सहकारी वा संस्थामा जाने भएपनि अझै महिला सोझै प्रहरीसम्म जान थालेका छैनन् ।” हिंसाका अधिकांश घटनामा प्रहरीकहाँ उजुरीदेखि अदालती प्रक्रियासम्म महिलाहरु संस्थाको सहयोगमा गर्ने गर्छन् । ग्रामीण क्षेत्रका महिलामा आफू एक्लै जाँदा पनि कारबाही अघि बढाउन सक्छु भन्ने विश्वास हुन सकेको छैन ।
आव २०७२÷७३ मा छ सय ४१ मुद्दा दर्ता भएका थिए । सबैभन्दा बढी घरेलु हिंसामा दुई सय २८ घटना दर्ता भएको थियो । आव २०७१÷७२ मा सात सय ३५ उजुरी दर्ता भएका थिए । आव २०७०÷७१ मा छ सय ५० उजुरी प्रहरीकहाँ दर्ता भएको थियो । आव २०६९÷७० मा तीन सय ७८ र २०६८÷६९ मा तीन सय ६८ उजुरी प्रहरीमा दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार