३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

बाढीले भत्काएको पानी तार्ने पुल निर्माण



तनहुँ, २० भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ मा पर्ने सुरौदी खोलामा निर्माण गरिएको ढलानको पानी तार्ने पुल भत्किएपछि एक महिनाको प्रयासमा निर्माण गरी पानी सञ्चालन गरिएको छ ।
गत असार २ गते राति खोलामा आएको बाढीले पानी तार्ने पुल भत्ँिकदा शुक्लागण्डकी नगरपालिका–१३ र १६ का करिब २०० हेक्टर क्षेत्रफलमा सिँचाइ हुन सकेको थिएन । उक्त सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समिति र सिँचाइ विकास डिभिजन कार्यालय तनहुँको संयुक्त प्रयासमा एक महिनाको अवधिमा अवरुद्ध नहरमा पानी सञ्चालन गर्न सकिएको हो ।

उक्त खोलामा २०५२ सालमा निर्माण गरिएको करिब ३८ मिटर लामो उक्त ढलानको डुढको बीच भाग बाढीले करिब २० मिटर पुल भत्काएपछि अस्थायी रूपमा पानी तार्ने काम भएको छ । उक्त क्षेत्रमा एक फिट गोलाइका २५÷२५ मिटरका दुई सेट पोलिथिन पाइप राखी करिब पाँच लाख रुपैयाँको लागतमा नहरमा पानी सञ्चालन गरिएको सुरौदी गणपतिटार सिँचाइ उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

उक्त नहरबाट शुक्लागण्डकी नगरपालिका–१६ अन्तर्गत पर्ने शीतल बस्तीका ३५ हेक्टर र सोही नगरपालिका–१३ मा पर्ने गणपतिमा ३५ हेक्टर तथा लालीममा १३० हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको अध्यक्ष सिग्देलले बताउनुभयो । उक्त क्षेत्रमा सिँचाइ नहँुदा करिब रु ५४ लाख बराबरको धान उत्पादन घट्ने अनुमान गरिए पनि अहिले नहरमा पानी सञ्चालन भएपछि उत्पादन बढ्ने लक्ष्य राखिएको सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख हरिदत्त पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २० भाद्र २०७३, सोमबार  ४ : ५५ बजे