५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

वृद्ध भत्ता घर घरमै दिइने


२१ जेष्ठ २०७४, आइतबार  

7
Shares

चौतारा, २१ जेठ । बंैकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर÷घरमै गएर वितरण गरिने बताउनुभयो ।

केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बंैक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो ।

सोही निर्देशनको पालना गर्दै आव २०६९÷७० देखि तत्कालीन चौतारा गाविसका वृद्धवृद्धाका लागि कृषि विकास बैंक चौताराबाट भत्ता वितरण गरिँदैआएको थियो । तत्कालीन गाविसलाई अन्य चार गाविसमा गाभेर चौतारा नगरपालिका कायम गरिएकामा हाल १० गाविस मिलाएर चौतारा साँगाचोकगढी नगरपालिका कायम गरिएको छ ।

नगरपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको पीडित वृद्धवृद्धाले दुःखेसो गर्न थालेका छन् । सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ्न पनि पटक पटक बोकिएरै जानुपर्ने हुँदा उनीहरुका लागि त्यस्तो भत्ता निल्नु न ओकल्नु जस्तै भएको हो ।

“पहिले त सचिवले घरमै आएर भत्ता दिन्थे”, चौतारा साँगाचोकगढी नगरपालिका– ७ निवासी ८६ वर्षीया लीलामाया केसीले भन्नुभयो, “आफू हिँड्नै सक्तिन, बोकिएर जान पनि मान्छे कोही पाइँदैन । भत्ता पाएर पनि लिन जान नसकेपछि त्यस्तो भत्ता के काम लाग्यो र ?”

आव ०७४÷७५ को बजेट बक्तव्यमा पनि बंैकमार्फत भत्ता कारोबार गरिने उल्लेख छ । वृद्धवृद्धाको सुविधाका लागि जहाँजस्तो उल्लेख भए पनि आगामी आवदेखि घर घरमै गएर भत्ता वितरण गरिने नगर प्रमुख तामाङले दृढता व्यक्त गर्नुभयो । जनप्रतिनिधि निर्वाचित भएर आइसकेको हुँदा बडाध्यक्ष र सदस्यको सक्रियतामा भत्ता हिनामिना नहुने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ६ : ४७ बजे