५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट


१४ असार २०७४, बुधबार  

0
Shares

 

लहान, १४ असार । मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ ।

बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास (तत्मा) लाई मङ्गलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई आज स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उहाँको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

स्थानीय डिहीबार थानमा हुने ‘असारी पूजा’ गर्न गएका बेला “हाम्रो भगवान् किन छोएको ?” भन्दै स्थानीय राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आफूमाथि अचानक आक्रमण गरेको घाइते दासले जानकारी दिनुभयो ।

अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाइदिएकोसमेत पीडित दासको भनाइ छ । घटनापछि आफूले इलाका प्रहरी कार्यालय बोदे बसाईनमा ठाडो उजुरीसमेत दिएको बताउँदै उहाँले प्रहरीले घटनामा खासै चासो नदिएको आरोपसमेत लगाउनुभयो ।

यता इप्रका बोदे बसाईनका प्रहरी नायब निरीक्षक उमाशङ्कर सिंहले पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ असार २०७४, बुधबार  १ : ०० बजे