५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एक सातामा सर्पको टोकाइबाट तीनको मृत्यु


२० श्रावण २०७४, शुक्रबार  

0
Shares

 

बर्दिवास, २० साउन । महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ । गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ । जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो । यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा चार वर्षीया बालिका र गत आइतबार यहीँकै १५ वर्षीय किशोर आशीष अधिकारीको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।

करैतको टोकाइ सर्प नदेख्दा कमिलाले टोकेको भान हुने हँुदा उपचारमा पु¥याउन ढिलाइ भएर मृत्यु हुने गरेको पाइएको छ । गोमनको ठूलो स्वरको फुङ्कार हुने हुँदा तत्कालै सर्पले टोकेको थाहा पाइने र करैतको टोकाइ लाटो हुने भएकाले सर्प नदेख्दा धेरै पछि बिरामीको अवस्था गम्भीर भएपछि मात्र देखिने लक्षणले सर्पले टोकेको बुझिने हुँदा करैतको टोकाइमा झुक्किने गरेको सर्प दंश उपचार केन्द्र, बर्दिवासका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । यो सातामा मृत्यु भएका तीनै जनालाई करैतले नै टोकेको पाइएको छ ।

पछिल्लो साताको प्रचण्ड गर्मी र वर्षाबीच सर्पको बिगबिगी बढे पनि बर्दिवासस्थित सर्प दंश उपचार केन्द्रमा सर्प दंशको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भाइलको अभाव, भाइल सुरक्षित भण्डारण गर्न ठाउँ र उपकरणको अभाव एवम् व्यवस्थापकीय समस्याले कैयौँ पटक बिरामीलाई अन्यत्र लान बताइँदा मानवीय क्षति बढ्ने गरेको बर्दिवासका सामाजिक, राजनीतिक कार्यकर्ता अम्बिकाप्रसाद गौतम बताउनुहुन्छ ।

अब बढ्दो मानवीय क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिका, अन्य सरकारी÷गैरसरकारी सङ्घसंस्था र स्थानीय राजनीतिक दलले उपचार केन्द्रको सुविधा र साधनस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार  ३ : २५ बजे