आगलागीबाट घाइते मानसिंहको उपचारक्रममा मृत्यु

जाजरकोट, २४ भदौ । आइतबार आगलागीमा परी घाइते भएका कार्कीगाउँ–६ का मानसिंह खत्रीको शुक्रबार बिहान २ बजे मृत्यु भएको छ । खत्रीको कीर्तिपुर अस्पतालमा उपचारका क्रम्मा मृत्यु भएको हो ।

उनकी छोरी सङ्गीता खत्री बोहराको आइतबार नै मृत्यु भइसकेको थियो । यसअघि घाइतेको उपचारका लागि भेरीमालिका नगरपालिकाले सहयोग गर्ने निर्णय बिहीबार गरेको थियो । बिहीबार बसेको सर्वदलीय बैठकले आगलागीमा परी गम्भीर घाइते भएका मानसिंह खत्रीलाई रु ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको थियो ।

त्यस्तै, अन्यमा भेरीमालिका नगरपालिका–४ का गोकर्ण चन्द, रुकुम चौरजहारी–७ का प्रेमबहादुर राना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश शाहलाई जनही रु पाँच हजारका दरले उपचार खर्च दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) जाजरकोटका सदस्य पार्वती विकले बताए ।

त्यस्तै, मृत्यु भएकी सङ्गीता खत्री बोहराका आफन्तलाई किरिया खर्च रु २५ हजार दिने निर्णय गरिएको छ । आगलागीबाट घाइते भएका सबैको उपचार काठमाडाँैमा भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार