५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या



तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गए । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए ।
उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गरे ।
अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उनको घाउमा औषधि त लगाइने भयो, तर औषधि लगाउनुअघि “केही भए म आफैँ जिम्मेवारी हुनेछु” भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र ।
चोट ठूलै देखिए पनि सर्प त्यति विषालु नपर्दा कार्कीले हस्ताक्षर गरेको कागजमा लेखिएजस्तो दुर्गती भोग्न परेन । जिल्ला अस्पतालको सामान्य उपचारले नै उनलाई ठीक भयो । चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उनले भने, “सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो ।”
कार्कीजस्तै जिल्ला अस्पताल आउने धेरैले यस्तै त्रास भोग्नुपर्छ । जिल्ला अस्पताल र मातहतका अरु स्वास्थ्य संस्था र छिमेकका जिल्ला अस्पतालमा समेत सर्पदंशको उपचार गर्ने औषधि नहुँदा बिरामीलाई यस्तो व्यवहार गर्न परेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आइरहने गरेपनि औषधि नहुँदा समस्या भएको अस्पताल स्रोतले बतायो ।
सर्पदंश जस्तै विषालु च्याउ खाएर हुने बिरामीको उपचारका लागि पनि जिल्ला अस्पतालमा औषधि छैन । विषालु सर्प पहाडी जिल्लामा नपाइने भनिए पनि पछिल्ला वर्षमा सर्पको टोकाइबाट ज्यान जान थालेको छ । विषालु च्याउ खाएर पनि गत वर्ष एक वृद्धाको ज्यान गयो । तीन महिनाअघि नौजना बिरामी परेकाहरुले धरान गएर उपचार गराए ।
जिल्ला अस्पतालमा पटकपटक औषधि माग गरेपनि सर्पदंशको औषधि देशैभरिका अस्पतालमा अभाव हुने र अझ पहाडी जिल्लामा त पठाउँदै नपठाउने गरेको अस्पतालका प्रमुख डा मुक्तनारायण शाहले बताए ।
अस्पतालले औषधि माग गरे पनि पठाउँदैनन, डा शाहले भने, “त्यसैले हामी बिरामीको उपचार यहाँ गराउन सक्दैनौँ, सामान्य उपचारले पनि नतिजा खतरा ल्याउन सक्छ भनेर बिरामीलाई त्यस्तो हस्ताक्षर गराउनुपरेको हो ।”

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार  ३ : ३८ बजे